पूर्वमन्त्री विक्रम पाण्डेविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  सरलपाटी संवाददाता

 343 पटक हेरिएको

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री विक्रम पाण्डेसहित २१ जनाबिरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

बाँकेमा निर्माण भइरहेको सिक्टा सिंचाइ आयोजनाको काममा भ्रष्टाचार भएको ठहर गर्दै आयोगले आयोजना प्रमुख देखि निर्माण व्यवासायी समेत रहेका पाण्डेविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले आयोेजना प्रमुख सूर्यदेव पाण्डे, सिनियर डिभिजनल इन्जिनियर मीनराज ढकाल, तत्कालीन प्रमुखहरु सरोजचन्द्र पण्डित, दिलिपबहादुर कार्की र रमेश बस्नेत, सीडीई मीनराज ढकाल, सूर्यदेव थापा, यागेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धामी, प्रकाशबहादुर कार्की, सिंचाई विभागका सुपरिसेन्डिङ इन्जिनियर कमलप्रसाद रेग्मी, सीडीई रविनाथबाबु श्रेष्ठ र अशिषचन्द्र खनालविरुद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जनाएका छन् ।

पूर्व आयोजना प्रमुख सरोजचन्द्र पण्डितमाथि ५९ करोड, ३४ लाख, ५२ हजार ५ सय ९४ रुपैया विगो दावी गरिएको छ ।

यस्तै, अर्का पूर्व आयोजना प्रमुख दिलिप बहादुर कार्कीमाथि १ अरब ५६ करोड ८२ लाख ८३ हजार १ सय ९९, अर्का पूर्व आयोेजना प्रमुख रमेश बस्नेससँग २ अरब, १३ करोड, ७६ लाख , ७९ हजार, ९ सय २० विगो दावी गरिएको छ ।

यस्तै पूर्वमन्त्री विक्रम पाण्डे विरुद्ध २ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९ सय २० रुपैया भ्रष्टाचार गरेको भन्दै विगो दावी गरिएको छ ।

सिक्टा सिंचाई आयोजनाको मूलनहर भत्किएको, मूलनहरको डिजाइनमा नै त्रुटी गरेको तथा निर्माणकै क्रममा पनि आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेण्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको हुँदा गुणस्तरिय काम हुन नसकेको अख्तियारले जनाएको छ ।

एक पटक परीक्षणका क्रममा नहर भत्किसकेकोमा पुनःपरीक्षण समेत नगरी निर्माण व्यवसायीलाई उन्मुक्ति दिएको उजुरीपछि आयोगले छानविन थालेको अख्तियारका प्रवक्ता दंगालले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार