?प्रदेशसभा सदस्य राम रानाले अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष रूपमा हेर्नुपर्ने बताएका छन् । शारीरिक वा मानसिक रूपमा अन्य व्यक्ति भन्दा फरक रहने अपाङ्गता भएका व्यक्तिहरू कम क्षमताका नभएको भन्दै सदस्य रानाले यस्ता व्यक्तिहरूका लागि घर, परिवार, समाज र राज्यले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘संविधानले पनि अपाङ्गता भएका व्यक्तिका अधिकार सुनिश्चित गरेको छ,’ देउमाइ नगरपालिकामा आयोजित २७ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आयोजित कार्यक्रममा रानाले भने संविधानले दिएका अधिकारको सुरक्षा गर्ने कर्तव्य हाम्रो हो ।’
देउमाइ नगरपालिकाको, करुणा फाउन्डेशन र नेत्रहीन संघको सहयोगमा सम्पन्न कार्यक्रममा विशेष अतिथि नगरप्रमुख सूर्य पोख्रेलले अपाङ्गता भएका व्यक्तिलाई देउमाइ नगरपालिकाले विशेष रूपमा हेरेको बताए । ‘अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरि नगरपालिकाले विभिन्न सीप मूलक र आयआर्जन मूलक कार्यक्रम सञ्चालन गर्दैछ,’ पोख्रेलले भने ‘नगरपालिका भित्र रहेका सबै वर्ग र समुदायका मानिसलाई आयआर्जनमा समाहित गरि सबैलाई सम्पन्न बनाउने लक्ष्य छ ।’
कार्यक्रममा करूणा फाउण्डेशन इलामका व्यवस्थापक अजित योञ्जनले अपाङ्गता भएका व्यक्तिलाई करूणा फउण्डेशनले जिल्ला भरिनै सहयोग र सहजीकरणको कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । कार्यक्रममा करूणाको सहयोगमा दशवटा ह्वील चेयर, सेतो छडी वितरण गरिएको थियो । कार्यक्रममा २०७३ को राष्ट्रिय युवा पुरस्कार प्राप्त गर्ने अमिर बम्जनले आफ्नो शरीरको चल्ने भाग टाउकोले मात्र कोर्ने चित्रकला र गीत प्रस्तुत गरेका थिए ।
दिवसकै अवसरमा मानव अधिकार मञ्च नेपाल इलामले पनि इनपा( ५ बरबोटे स्थित वौद्धिक अपाङ्गता स्रोत कक्षाका २५ छात्रछात्रालाई न्यायो कपडा वितरण गरेको छ । मञ्चका उपाध्यक्ष वीरबहादुर खड्काको अध्यक्षता र वडा अध्यक्ष ठाकुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बालबालिकालाई टोपी, स्वीटर, ट्राउजर, मोजा वितरण गरिएको थियो ।
न्यायो कपडा वितरण पछि वडाध्यक्ष तथा प्रमुख अतिथि श्रेष्ठले फरक क्षमता भएका व्यक्ति र बालबालिकालाई घर, परिवार र समाजले माया गर्नुपर्ने बताए । माया र सहयोग भए त्यस्ता व्यक्तिले पनि राष्ट्रका निम्ति योगदान गर्नसक्ने भन्दै बरबोटेमा रहेको वौद्धिक अपाङ्गता स्रोत कक्षालाई इलाम नगरपालिकाले पनि विशेष रूपमा दिएको नगरप्रवक्ता समेत रहेका श्रेष्ठले बताए ।
यस्तै इलाममा माबु, जमुना, नयाँबजार, फिक्कललगायतका स्थानहरुका पनि अपाङ्गता भएका व्यक्तिहरुको २७ औं अन्तराष्ट्रिय दिवस विविध कार्यक्रम गरि मनाइएको छ ।


495 पटक हेरिएको 






