
इलाम । इलाम नगरपालिका–३ पुवाझुवा स्थित अधेरे गाउँमा नवजात शिशुको शव फेला परेको छ । भर्खरै जन्माएर फालिएको अवस्थामा शुक्रबार विहान शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्याल इलामले जनाएको छ ।
शिशु जन्माएर फालेको आशंकामा प्रहरीले इलाम नगरपालिका–९ फिक्कल बस्ने २५ वर्षिय सावित्रा मुखियालाई नियन्त्रणमा लिएको छ । फिक्कलबाट पुवामझुवा आफन्तकोमा गएको बेला जन्मिएको शिशु बारिमा फालेको हुनसक्ने प्रहरीको अनुमान छ । मुखियालाई प्रहरीले नियन्त्रणमा लिएर उपचार गराइरहेको छ । रत्तश्राव भइरहेकाले उनलाई उपचारको लागि अस्पताल भर्ना गरिएको प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले बताएका छन् ।
मुखियाको अवस्था कमजोर भएकाले प्रहरीले प्रारम्भीक बयान मात्रै लिएको छ । श्रोतका अनुसार उनका श्रीमान वैदेशीक रोजगारीमा छन् । अवैध सम्पर्कबाट जन्मिएको बच्चा फालेको हुनसक्ने भएपनि अनुसन्धान पुरा नभइञ्जेल निचोडमा पुग्न नसकिने प्रहरीले जनाएको छ । शिशुको शव पोष्टमार्टमको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने तयारी भइरहेको छ । जिवितै जन्मिएको हो या मृत अवस्थामा शिशुको जन्म भएको पत्ता लगाउँन पोष्टमार्टम धरानमा गराउने प्रहरीले तयारी गरेको छ ।


616 पटक हेरिएको 






