उद्योगको क्षमता अनुसार उत्पादन भएन चिया

उद्योगको क्षमताभन्दा ६४ प्रतिशत कम उत्पादन

इलाम/चियाको राजधानी घोषणा गरिएको इलाममा नयाँ बगानको विस्तार हुन सकेको छैन । चिया खेतीमा किसानको आकर्षण घट्दै गएकाले चियाको विस्तार हुन नसकेको हो । अन्य जिल्लाहरुमा खेतीका विस्तार भइरहेपनि इलाममा भने चिया खेतीको विस्तार ठप्पनै रहेको चिया तथा कफी विकास बोर्डका इन्द्र अधिकारी बताउँछन् । ‘अरु जिल्लामा अलिअलि विस्तार भइरहेको छ, तर इलाममा भने चियाको विस्तार बन्द जस्तैछ’–उनले भने–‘यसमा धेरै कारण हुन सक्ला, चिया खेतीमा किसानको आकर्षण घट्नु पहिलो नै हो ।’
२०५० देखि ६० को एक दशकमा नेपालको ५४ प्रतिशतले चिया खेती विस्तार भएको थियो । पछिल्लो अर्को दशमा २७ प्रतिशत मात्रै चिया खेती विस्तार भएको थियो । २०७० पछिको पाँच वर्षमा १.९ प्रतिशतले मात्रै चिया खेती विस्तार भएको छ । चिया खेती गरिरहेका किसानले पनि खेती विस्तार गर्ने सोचमा छैनन् । चिया तथा कफी विकास बोर्डले गरेको एक सर्वेक्षण अनुसार ६४ प्रतिशत किसान खेती विस्तार नगर्ने निर्णयमा पुगेका छन् ।
इलाममा चियाको खेती बढाउने किसानले बर्षेनी चियाको नर्सरी राख्ने गरेका थिए । तर, अहिले इलाममा नयाँ चियाको नर्सरी भेटिदैन । भएका नर्सरीको विरुवा समेत छिप्पिएर खेती विस्तारको लागि अयोग्य भइसकेका छन् । ‘अहिले राम्रो विरुवा चाइयो भने पनि भेटिदैनߢ–चियाका प्राविधिक ज्योति अधिकारीले भने–‘नरोप्ने भएपछि किसानले चियाको नर्सरीनै राख्दैनन् ।’ केही वर्ष अघिसम्म विक्रीकै लागि भएपछि नर्सरी राख्ने गरेका थिए । राम्रो मूल्यमा चियाको विरुवा समेत विक्न छाडेपछि किसानले नर्सरी राख्दैनन् ।
चियाको विस्तार भएपछि चिया उद्योगहरुलाई हरियो पत्तिको अभाव हुन थालेको छ । तर, उद्योग स्थापना गर्ने होड रोकिएको छैन । पछिल्लो एक वर्षमा मात्रै इलाममा चारवटा नयाँ उद्योग स्थापना भएका छन् । हरियोपत्तिको अभावमा उद्योगहरु बन्द हुन थालेका छन् । आफ्नो बगान नभएका उद्योगहरु बन्दगर्नुपर्ने अवस्थामा पुगेको चिया तथा कफी विकास बोर्डका इन्द्र अधिकारीले बताउँछन् ।
सञ्चालनमा रहेका उद्योग आफ्नो क्षमताको आधा पनि कच्चा पदार्थ पाउन सकेका छैनन् । चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा रहेका एक सय तीन चिया उद्योगले ५२ हजार एक मेट्रिक टन तयारी चिया उत्पादन गर्न सक्छन् । तर, ति उद्योगहरुले बर्षेको १८ हजार नौ सय ५८ मेट्रिक टन तयारी चिया उत्पादन गर्ने गरेका छन् । उद्योगको बार्षिक क्षमताको ३६ प्रतिशत मात्रै उपभोग भइरहेको चिया तथा कफी विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । नेपालमा १२ हजा ६६ हेक्टरमा चिया खेती लगाइएको छ । त्यसबाट दश करोड ८० हजार किलो हरियो पत्ति उत्पादन हुन्छ । देशभरमा ११ हजार ४१ वगान छन् जिल्लागत रुपमा सवैभन्दा बढि इलाममा ६ हजार नौ सय ९५ वगान छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार