आलोक र भुवनको प्रश्न हामीले खोई कहाँ पढ्ने ?

छैनन् अपाङ्गमैत्री भवन

  किरण पौड्याल

 581 पटक हेरिएको

इलामको सन्दकपुर गाउँपालिकास्थित जमुनाका आलोक खतिवडालाई एसईई परीक्षा पास गरेपछि कहाँ पढ्न जाने भन्ने चिन्ताले सातायोे । । शारीरिक अवस्था कमजोर भएका आलोकको कम्मर मुनिको भाग चल्दैन । त्यसैले उनी हिडेर क्याम्पस जान सक्दैनन् । ह्वील चियरको सहायताले पढ्न जानु पथ्र्यो ।
उनी उच्च शिक्षा पढ्नका लागि इलामका सबै दश जोड दुई चलेका विद्यालय चाहारे । कतै आफू पढ्न जान सक्ने विद्यालय पाएनन् । ह्वील चियरमा मात्र हिड्न सक्ने आलोकलाई ह्वील चियरमा गुडेर कक्षामा पुग्न सक्ने भवन पाइएन । भवनकै समस्या भएपछि उनी पढ्नका लागि काठमाडौं हानिए । काठमाडौंका समेत अधिकतर विद्यालय र क्याम्पस खोज्दा पनि उनले पढ्न सक्ने किसिमको भवन कतै फेला परेन । हाम्रा विद्यालय र क्याम्पसहरु अपाङ्ग मैत्री नहुँदा उनलाई अध्ययन अगाडि बढाउन सकस भएको हो ।
‘छोरालाई पढाउन धेरै ठाउँ धाए कतै पढ्ने किसिमको भवन पाइएन’ आलोकका बुवा भुवन खतिवडा भन्छन्, ‘ह्वील चियरमा मात्र हिड्न सक्ने भएकाले ह्वील चियर हिड्न सक्ने भवनको खोजीमा गर्यौं तर कतै रहेनछ ।’ ह्वील चियर कुद्ने गरेर अपाङ्गमैत्री विद्यालय र क्याम्पस नहुँदा उनलाई अध्ययन अगाडि बढाउन समस्या भयो । त्यसपछि हाल उनी इलामकै इलाम फाउन्डेसनमा पढ्दै छन् । घरैमा अध्ययन गरेर परीक्षामा सहभागी हुँदै आएका छन् । उनी हाल कक्षा १२ मा अध्ययनरत छन् ।
आलोक जस्तै उनका दाजु भुपाललाई पनि ठ्याक्कै यही समस्याले कक्षा कोठामा बसेर अध्ययन गर्न पाएका छैनन् । दाजु र भाइको शारीरिक समस्या एउटै छ । जसोतसो कक्षा १२ सम्म इलामकै आदर्श पढेका उनलाई स्नातक पढ्न झनै समस्या भयो ।
हिड्नका लागि अर्काको साहारा चाहिने भएकाले भुवन जिल्लाबाट टाढा गएर पढ्न सक्ने कुरा पनि आएन । इलामकै महेन्द्र रत्न बहुमुखी क्याम्पसमा अहिले भर्ना भएका छन् । क्याम्पस नगई ‘प्राइभेट’रूप स्नातक पढ्दैछन् ।
उनले यसै वर्ष स्नातक त सक्छन् । तर, उनलाई स्नातकोत्तर कहाँ पढ्ने भन्ने चिन्ता छ । ‘डिप्लोमा नै पनि क्याम्पस गएर पढ्न पाएन’ भुपालका बुवा भुवन भन्छन्, ‘होस्टल राखेर बावु आमासँगै बसेर स्याहार गर्दै पढाउने विचार थियो । तर, दुबै जना बस्न नमिल्ने भएपछि प्राइभेट पढाउनु परेको हो ।’ छोरालाई स्नातक पढाउनका लागि भुपालले इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा छात्रबासमा बसेर पढाउने सोँचेका थिए । तर, क्याम्पस प्रशासनले छात्रबासमा बाबुआमा दुबैलाई एकै ठाउँ राख्न नसकिने जनायो ।
भुपाल भन्छन्, ‘दुबै छोराको पढाइ एकदमै राम्रो छ । तर क्याम्पस अपाङ्गमैत्री नभइदिनाले पढाउन साह्रै समस्या भएको छ ।’
भुपाल र आलोक मात्र होइन, अपाङ्गता भएका धेरैलाई यो समस्या छ । शिक्षा क्षेत्रमा मात्र होइन सार्वजनिक स्थलहरुका संरचनाहरु अझैं पनि अपाङ्गमैत्री छैनन् । सरकारले २०६० सालमै अपाङ्गमैत्री भवन निर्माण गर्नका लागि ऐन तथा नियमावली समेत जारी गरेको छ । तर, कार्यान्वयनमा आएको छै्रनन् ।
अपाङ्गमैत्री संरचना नहुँदा अपागङ्गता भएका व्यक्तिहरू सेवा सहभागिताबाट बञ्चित हुनु परेको अपाङ्ग एकता समाज इलामका सचिव प्रकाश चापागाईं बताउँछन् । ‘माथिल्लो तहकै हेलचेक्राईंका कारण यस्तो समस्या भोग्नु परेको हो ।’ चापागाईंले भने, ‘पछिल्लो समय बन्दै गरेका भवन समेत अपाङ्गमैत्री छैनन् ।’
कति छन् त अपाङ्गता भएका व्यक्ति
इलाममा हाल चार हजार चार सय दुई जना अपाङ्गता भएका व्यक्ति छन् । जिल्लाका १० स्थानीय तहमा करुणा फाउन्डेसन इलाम र स्थानीय तहको समन्वयमा निकालिएको तथ्याङ्कमा शारीरिक तथा मानसिक रोगी सहितको हो ।
अपाङ्ग महासंघका अनुसार मुलुकको जनसंख्याको एक दशमलब ४९ प्रतिशत अपाङ्गता भएका व्यक्ति रहेका छन् भने सबै भन्दा बढी २ दशमलब ४३ प्रतिशत अपाङ्गता भएका व्यक्ति कर्णाली प्रदेशमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार