इलामको पश्चिमी प्रसिद्ध धार्मिकस्थल गजुरमुखीमा परम्परागतरूपमा लाग्दै आएको जिल्लाकै ठूलो मेला शुरु भएको छ ।
हरेक वर्ष कात्तिक पूर्णिमाका दिन यहाँ विभिन्न क्षेत्रबाट दर्शनार्थीको बाक्लो उपस्थिति हुन्छ । गजुरमुखी विकासमञ्च माङसेबुङ गाउँपालिकाको आयोजनामा शुरू भएको मेलामा शुक्रबार बिहानैदेखि पूजापाठ गर्नका लागि भक्तजनको भीड लागेको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिए ।
गजुरमुखी पुगेका भक्तजन र पर्यटक स्थानीय गजुरमुखी मन्दिर नजिकै रहेको फाँटिलो खेतमा ठाउँठाउँमा अस्थायी टहरा बनाएर जाग्राम बस्न थालेका छन् । प्रसिद्ध धार्मिकस्थल गजुरमुखीमा दर्शनका लागि इलाम, झापा, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी तथा भारतको दार्जिलिङ, कालेम्पोङलगायतका स्थानबाट भक्तजन आएका छन् । तीन दिनसम्म लाग्ने मेलामा सांस्कृतिक कार्यक्रम, मन्दिरमा पूजाआजाका साथै फुटबल प्रतियोगितासमेत आयोजना गरिएको छ ।
गजुरमुखी धाममा पूजा अर्चना गरे मनोकाङ्क्षा पूरा हुने विश्वास आम भक्तजनमा रहेको छ । निःसन्तानले गजुरमुखीमा आएर भाकल, पूजा अर्चना गरेपछि सन्तान प्राप्त गरेको विश्वासमा पुनः गजुरमुखी आएर नियमित पूजापाठ गर्ने गरेको स्थानीयवासी कृष्ण बुढाथोकीले बताए।
उक्त मन्दिरभित्र पूजापाठ गर्नका लागि मन्दिरभित्र प्रवेश गरेपछि पछाडि नफर्की बाहिरिँदा पुण्य कमाइने विश्वास गरिन्छ । मेलामा आएका युवामा धान नाचेर विवाह गर्ने प्रचलनसमेत रहिआएको छ । गजुरमुखी देवीको उत्पत्ति करीब २५० वर्षअघि भएको स्थानीयवासी बताउँछन् ।


502 पटक हेरिएको 






