व्यवसायले बिर्साइदियो विदेश

  सरलपाटी संवाददाता

 711 पटक हेरिएको

इलाम नगरपालिका–१० शिलपुरका व्यवसायी सुमन गोले आफ्नो कुखुरा फाममा
वैदेशिक रोजगारीमा जानु गाउँघरमा अचेल सामन्य जस्तै भएको छ । गाउँका हरेक घरका एक न एक युवाहरू पैसा कमाउन विदेशमा परिश्रम गरिरहेका छन् । विदेश जानु अघि स्वदेशमै केही गर्न सकिन्छकि भन्ने नसोच्ने धेरै व्यक्ति वैदेशिक श्रमपछि घर फर्किएर पुनः विदेश नजाने निचोडमा पुग्दैछन् । विदेश गएर फर्किएका जिल्लाका धेरै व्यक्तिले आफ्नै गाउँघरमा विभिन्न पेशा र व्यवसाय अंगालेका पनि छन् ।

घरमै बसेर पनि व्यसायिक बन्दै पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदारण इलाम नगरपालिका– ४ स्थित महानन्द ओझा बनेका छन् । दशवर्षको वैदेशिक रोजगारी पछि घरफर्किएकी श्रीमतिले पनि जाँगर चलाएपछि कुखुरा व्यवसाय शुरू गरेको ओझाका अहिले राम्रो कमाइ त्यही कुखुरा बनेको छ । १७ सय कुखुराबाट शुरू गरेको कुखुरा फाममा अहिले २३ सय कुखुरा छन् । ‘एउटा कुखुराले दुईवर्ष सम्म अण्डा दिने गरेको छ । एक महिनामा एउटा कुखुराले २२ देखि २४ वटा अण्डा दिने गरेको छ ।’ उनी भन्छन् ‘प्रतिगोटा साढे एघार रूपैयाँका दरले बिक्री हुने अण्डालाई ओझा परिवार आफैंले बजार पनि पुर्याउनु पर्दैन । अण्डा लिन प्रायः सबै घरमै आउँछन्, सयो अण्डाले इलाम बजारको एक छेउ पनि धान्न सकेको छैन ।’
विदेशमा बसेर काम गर्नुभन्दा घरमा चलाएको व्यवसायबाट आफू सन्तुष्ट रहेको ओझाकी श्रीमति बताउँछिन् । २०७१ देखि कुखुरा पालन शुरू गरेका ओझा परिवारले लेयर्स कुखुरामात्र पालेका छन् । अण्डा उत्पादन गर्दा त्यसको बजार धेरै राम्रो भएको ओझाको भनाइ छ । ओझाले भन्नुभयो–गर्न र खट्ना सक्दा आम्दानी राम्रै हुन्छ । पाँचथरको प्राङबुङ भएका स्थायी घर ओझा २०५८ सालमा शसस्त्र द्धन्द्धका समयमा विस्थापित भएर इलाम– ४ मा आएर बस्न थालेका हुन् । ३२ रोपनी जग्गा लिएर किवी र अलैंची खेती समेत गरेका ओझालाई कृषि जन्य उत्पादनका लागि यही कुखुराले राम्रो सहयोग गरेको छ । कुखुराको सुली प्रयोग गरेर अर्गानिक खेती गरिरहेको छु, ओझा भन्नुहुन्छ–वर्षेनी राषयनिक मल र विषादीका कारण गाउँघरको माटोको अम्लीयपना (पिएच) बिग्रिएका बेला कुखुराको मलले खेती बालीलाई राम्रो गर्दो रहेछ, कुखुराले दोहोरो फाइदा पुगेको जस्तो लाग्छ ।
‘म आफू अवकास प्राप्त शिक्षक, श्रीमति पनि वैदेशिक रोजगारी गरेर आएकी हुन्’ओझाले भने ‘ तर वैदेशिक रोजगारी भन्दा यहींंको व्यवसाय र कमाइ आनन्दको लाग्छ, कोही विदेश जाँदैछन् भनेपनि एक पटक विदेश जाँदाको लगानी र विदेशको दुःख तथा कमाइको मुल्याकंन गर्न सल्लाह दिनेगरेका छौं ।’
वैदेशिक रोजगारीका लागि दुईवर्ष कतार बसेर घर फर्किएका इलाम नगरपालिका– १० का लिपुरका सुमन गोले अचेल विदेश जाने युवालाई सोझै विदेश नजानु भन्ने सल्लाह दिन्छन् । ‘सेकुरेटी गार्ड’ को काममा कतार बस्दा त्यहाँको गर्मीकै कारण विरामी भएपछि घर आएर गोलेले अहिले कुखुरा व्यवसाय सञ्चालन गरेको पनि करिब आठ वर्ष भएको छ । गोदक स्थित मेची राजमार्गकै नजिक शिलपुरमा कुखुरा फाम खोलेका गोलेले कुखुराबाट चित्त बुझ्दो आम्दानी हुने गरेको बताउँछन् । ‘धेरै कमाएरै राख्ने पैसा त हुन्न तर, घरचलाउन पुगेको छ, घरमा बसेर चलाएको व्यवसायको आम्दानी विदेशको भन्दा कम छैन भन्दा पनि हुन्छ ।’ गोलेले भने ‘विदेशमा सजिलै पैसा कमाइन्छ भन्ने धेरैको बुझाइ छ, तर विदेश गएर कमाउन त्यति सजिलो छैन, जति आफ्नो गाउँ–घर र आफ्नै देशमा बसेर जुनसुकै व्यवसाय गर्दा पनि सहज हुन्छ ।’ गोले कसैलाई पनि विदेश नजाने सल्लाह दिएर, विदेश जाँदा गर्ने लगानी यहीं गर्दा त्यो उत्तम हुने बताउँछन् ।
गोलेले कुखुराका चल्ला हुर्काउने, छरमिकेकमा पालेका बिक्रीका लागि योग्य कुखुरा पनि आफैं किनिदिने र काटेर मासु पनि बेच्ने गरेका छन् । दुईसय २० रूपैयाँ प्रतिकिलोको बोइलर जातको कुखुरा अझ मासु बनाएर बिक्री गर्दा केही बढी आम्दानी हुने उनी बताउँछन् । ‘बजारका लागि खासै टाढा लानु पर्दैन, घर र माइखोला राजदुवाली सम्ममै यहाँको सबै कुखुरा खपत हुने गरेको छ,’ गोलेले भने ‘प्रायः कुखुराको माग बढीनै हुने गरेको छ । गाउँघर–छरछिमेकको विवाह अथवा अन्य कामका लागि पनि कुखुराले राम्रो भरथेग गरेको छ ।’ त्यसोत गोलेको व्यवसायमा परिवारका अन्य सदस्यले पनि सघाउने गरेका छन् । ‘आफू नभएको बेला परिवारले सघाउँछ । उनीहरूलाई पनि रोजगारीको मेलो हुन्छ, वेरोजगार बस्नु भन्दा घरमा भएपनि केही न केही त गर्नुपर्छ ।’ गोले भन्छन् ‘विदेशमा पनि बसेर पैसा कमाइने होइन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार