इलामको माङ्सेबुङ गाउँपालिका र इलाका प्रहरी कार्यालय मङ्गलबारेबीच समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समझदारी पत्रमा मङ्गलवार हस्ताक्षर भएको छ । समझदारी पत्रमा गाउँपालिकाका तर्फबाट गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गो र इलाका प्रहरी कार्यालयकोतर्पmबाट प्रहरी निरीक्षक प्रदिपकुमार पौडेलले हस्ताक्षर गरेका छन् ।
यस साझेदारीअन्तर्गत माङ्सेबुङ गाउँपालिका र इलाका प्रहरी कार्यालय मङ्गलवारेको संयुक्त प्रयासमा सामुदायिक प्रहरी सचेतना तथा अपराध रोकथाम, प्रहरी विद्यालय सम्पर्क कार्यक्रम, स्थानीय तहको सेवा प्रवाहमा प्रभावकारी सुरक्षा समन्वय हुनेछ ।
त्यस्तैगरी प्राविधिक सुरक्षा उपकरणको स्थापना र विस्तार, सामुदायिक गस्ती र प्रभावकारी प्रहरी परिचालन, एकीकृत स्वयम्सेवक परिचालन, फरार अपराधी पक्राउमा समुदायको रचनात्मक सहयोग, सूचना आदानप्रदान, तथ्याङ्क सङ्कलन तथा अद्यावधिक, वातावरण संरक्षण तथा प्राकृतिक श्रोतको दोहन नियन्त्रणजस्ता कार्य सम्पादन हुनेछ ।
यस कार्यक्रमअन्तर्गत आधारभूत सुरक्षा, महिला बालबालिका तथा जेष्ठ नागरिक विरूद्धको अपराध र हिंसा नियन्त्रण, सामाजिक विकृति विसङ्गति नियन्त्रण, मान बेचबिखन नियन्त्रण, एकीकृत घुम्ती शिविर, सडक सुरक्षा, लागू औषध निषेध र मदिरा नियन्त्रण, विपद् व्यवस्थापन, साइवर सुरक्षा, वातावरण संरक्षणजस्ता कार्य गरिने प्रनि पौडेलले बताए ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमले स्थानीयस्तरमा हुने आपराधिक घटनामा कमी आएर सम्मुन्नत समाज निर्माणमा टेवा पुग्ने गाउँपालिका अध्यक्ष इदिङ्गोले विश्वास व्यक्त गरे ।
यसैबीच गाउँपालिकाका अध्यक्ष इदिङ्गोको संयोजकत्वमा १५ सदस्यीय समुदाय प्रहरी पालिका समिति गठन भएको छ । समितिको सहसंयोजकमा उपाध्यक्ष सुनिता सुव्वा, प्रहरी अधिकृत प्रदिपकुमार पौडेल, प्रसनि श्याम दहाल, पुष्कर कार्कीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सदस्य छन् । यस लगत्तै प्रत्येक वडामा पनि वडास्तरीय समुदाय प्रहरी साझेदारी कार्यक्रम समेत सञ्चालन गरिने प्रहरी हवल्दार सुरेश नेपालले जानकारी दिए ।