
पाँचथर । संघीय सरकारले राष्ट्रिय परिचय पत्र वितरणको तयारी अन्तिम चरणमा पु¥याएको छ । केन्द्रका महानिर्देशक दिपक काफ्लेका अनुसार हालसम्म राष्ट्रिय परिचय पत्रका लागि पाँचथर जिल्लाका ५० हजार ७ सय ९४ सर्वसाधारण सहित सिंहदरवारमा कार्यरत ३ हजार २ सय कर्मचारीको विवरण संकलन र छपाइ सँग सँगै गरिएको छ ।
काफ्लेका अनुसार छापेर सकिएका राष्ट्रिय परिचय पत्र मंसिर ३ गते पाँचथर सदरमुकाम फिदिममा राष्ट्रिय कार्यक्रमको आयोजना गरी प्रधानमन्त्री केपी सर्मा ओलीको हातवाट वितरण कार्यको उद्घाटन गर्ने तयारी भइरहेको छ ।
नेपाल सरकारले राष्ट्रिय परिचय पत्र वितरणको शुरुवात पाँचथर जिल्लावाट गर्न गरेको निर्णय अनुसार केन्दैले गत असार ५ गते सदरमुकाम फिदिम स्थित जिल्ला प्रशासन कार्यालयवाट विवरण संकलन शुरु गरेको थियो । जिल्लाका ८ मध्ये ४ वटा स्थानीय तहमा पहिलो चरणको विवरण संकलन सकिएको दुईवटामा जारी रहेको र वाँकी दुईवटामा टोली खटाउने तयारी भइरहेको केन्द्रका निर्देशक शिवराज जोशीको भनाई छ ।
नेपाल सरकारले आर्थिक वर्ष २०६६।०६७ मा अगाडी वढाएको राष्ट्रिय परिचय पत्र वितरणको अवधारणालाई कार्यन्वयनको चरणमा लैजान सरकारले गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्र मार्फत प्रकृया शुरु गरेको हो ।
पहिलो पटक पाँचथर जिल्लाका १ लाख १० हजार नागरिक सहित सिंहदरवारमा कार्यरत ७ हजार कर्मचारी गरी कुल १ लाख १७ हजारलाई पाइलटिङका रुपमा परिचय पत्र वितरण गर्ने सरकारको तयारी छ ।
सरकारले वितरण गर्न लागेको परिचय पत्रमा चिप सहितको स्मार्ट कार्डमा वाहकको दश औंठा छाप सहितको बैयक्तिक विवरण समावेश हुन्छ । राष्ट्रिय परिचय पत्र कार्यन्वयनमा आएपछि वाहकको सवैखाले विवरण समावेश गरिने भएकाले नागरिकता, लाइसेन्स, फोटो सहितको मतदाता परिचय पत्र र जग्गाधनी पुर्जा जस्ता सामग्री वोकेर हिड्ने झण्झटवाट मुक्त हुने वताइएको छ ।


594 पटक हेरिएको 






