गोरखामा शनिबार साँझ भएको बस दुर्घटनामा परी १७ जना घाइते भएका छन् । तनहुँको आँबुखैरेनीबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेको ना ३ ख ७५४४ नम्बरको यात्रु बस गोरखा नगरपालिका–११ स्थित सोह्र किलो भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
बस सडकबाट अन्दाजी २८ फिट तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
आगलागीबाट १७ लाख क्षति
गोरखाको गण्डकी गाउँपालिका–७ मा आज दिउँसो भएको आगलागीबाट रु १७ लाख बराबरको क्षति भएको छ । गण्डकी गाउँपालिकाको ज्यामिरे भन्ने स्थानमा स्थानीय दिपक रेग्मी र निर्मला रेग्मीको घरमा आगलागी हुँदा सो क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
आगलागीबाट दिपक रेग्मीको ढुङगा माटोले बनेको र जस्ताले छाएको तीनतले कच्ची घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट रेग्मीको घरमा रहेको नगद रु एक लाख लाख ५० हजारसहित दश लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब निरीक्षक रोशन थापाले जानकारी दिए। त्यसैसँगै जोडिएको निर्मला रेग्मीको ढुङगा माटोले बनेकोे एक तले घर पनि आगलागीबाट पूर्णरुपमा नष्ट भएको छ ।
आगलागीबाट उहाँको समेत घरमा रहेको नगद रु ८० हजारसहित छ तोला सुन, लत्ताकपडा अन्नपात, भाँडावर्तन गरी रु सात लाख ५३ हजार बराबर क्षति भएको प्रहरीले जनाएको छ । बिहान करीब १० बजेतिर शुरु भएको आगलागी तीन घण्टापछि नियन्त्रणमा लिइएको थियो ।
घ्याल्चोक प्रहरी चौकीबाट खटिई गएको प्रहरीको टोली, स्थानीयवासीलगायतको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । बिजुली चुहावट भई आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । आगलागीबाट मानवीय र चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ ।


502 पटक हेरिएको 






