गाई, गोरु र गोवद्र्धन पूजा, नेपाल संवत् ११३९ र म्हः(आत्म) पूजा

  सरलपाटी संवाददाता

 912 पटक हेरिएको

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवद्र्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।

गोवद्र्धन पूजा

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी कृषक एवं हलीलाई पनि आज पूजा गर्ने गरिन्छ ।
नेपाल संवत् ११३९ र म्हः(आत्म) पूजा
नेपाल संवत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवत्को शुरुवात गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।
“लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”,उनले भने ।
विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।
गरीब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थियो ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परासमेत काठमाडौँमा छ ।

म्हः (आत्म) पूजा

आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई बताउनुभयो । आत्मसन्तुष्ट बनाई खुशी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार