इलाम ।
दुग्ध विकास संस्थानमा जागिर खाउञ्जेल रिञ्जीफुर्वा शेर्पाले आफू भविष्यमा उद्योगी बन्छु भनेर कल्पनासम्म गरेका थिएनन् । संस्थानको चीज मेकरका रूपमा जागिर खाँदा उनलाई लाग्थ्यो– कहिले संस्थानले तलब–भत्ता बढाइदेला र आम्दानीको मेलो बढ्ला, छोराछोरीलाई सुखसयलमा राख्न सकिएला ।
यही इच्छाले उनले संस्थानसँग सेवा–सुविधा बढाउन माग पनि गरे । तर, उनका मागमा संस्थानले टसमस नगरेपछि उनलाई त्यही जागिर खाइरहन मन लागेन । निकै समयको सोचपछि उनले निर्णय लिए– जागिरबाट राजीनामा दिने अनि कुनै व्यवसाय गरेर गरिखाने । नभन्दै, उनले गरे पनि त्यसै ।
आफूले लामो समयसिकेको त्यही दूधबाट चीज बनाउन नै हो । जागिर छाडेपछि परिवारको हातमुख जोर्ने पेसा खोज्दै इलाम आइपुगेका शेर्पा अहिले जिल्लाकै गणनामा आउने सफल चीज उद्योगी बनेका छन् । आफूले संस्थानमा सिकेको सीप र तत्परताका कारण उनी आफ्नो मात्रै आर्थिक प्रगति भएको छैन, उद्योगमा दूध बेच्ने किसानलाई समेत प्रत्यक्ष फाइदा पुगेको छ उनको व्यवसायले । गाउँमा चीज उत्पादन गरेर उनले किसानलाई दूधको मूल्य अन्य उद्योगले दिएभन्दा बढी त दिएका छन् नै, पशुपालनबारे प्राविधिक ज्ञानसमेत उनकै उद्योगमार्फत् किसानले पाइरहेका छन् ।
दोलखाको साविक स्यामा गाविस–७ हो रिञ्जीफुर्वाको जन्मगाउँ । तर, १९ वर्षदेखि इलाममा रहेका शेर्पा सन्दकपुर गाउँपालिका–१, देउरालीमा दुग्ध व्यवसाय गरेर उल्लेख्य कमाइ गरिरहेका छन् । उनको शेर्पा डेरी उद्योगमा उत्पादन भएको चीज र घिउ अहिले देशका विभिन्न ठूला सहरसम्म पुग्छ । दुग्ध उत्पादनमा नाम कहलिएको इलामका लागि शेर्पा डेरीले समेत योगदान गरेको सरोकारवाला बताउँछन् । सानोनितो लगानीबाट सुरु गरेको उनको चीज उद्योग व्यवसाय अहिले १२ जनाभन्दा बढीलाई प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी दिने थलो बनेको छ । उनी ढुक्कसाथ भन्छन्, ‘सबै खर्च कटाएर वर्षमा ३६ देखि ३९ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएको छु ।’
जन्मगाउँभन्दा धेरै टाढा आएर सफल व्यवसायी बन्न उनले थोरै कष्ट र मेहनत गरेका छैनन् । दूध उत्पादन बढाउनेदेखि गुणस्तरीय चीज उत्पादन, बजार विस्तार, आफ्नो उद्योगप्रति किसान आकर्षित गर्न निकै पसिना बगाउनुपरेको उनी सम्झन्छन् । ‘व्यवसायमा सफल हुन सबैले मेहनत त गर्नैपर्छ नि,’ भन्छन्, ‘जागिर खाउञ्जेल यही जागिर सबैथोक हो जस्तो लाग्थ्यो, धन्न बेलैमा जागिर छाडेर उद्योग गरिएछ ।’ उनी आफू यही व्यवसायमा सन्तुष्ट रहेको बताउँछन् ।
संस्थानमा आबद्ध रहेका बेला लैनचौरदेखि विराटनगरसम्मका कार्यालयमा काम गर्दा उनले दूधबाट चीज बनाउने कला मात्रै सिकेनन्, चीजको बजार, गुणस्तर, आवश्यकता र सम्भावना पनि बुझे । २०३० सालदेखि ०३२ सालसम्म चीज बनाउन सिक्दा साढे ४ महिना फिलिपिन्समा दुग्ध उत्पादनसम्बन्धी तालिम लिने अवसर पनि पाए उनले । संस्थानामा करिब ७ वर्ष काम गरेपनि उनी आफैं व्यवसाय गर्ने सोचसहित २०५६ सालमा इलाम आएका हुन् ।
तत्कालीन शेर्पा संघमा समेत आबद्ध रहेका बेला इलामकै निमातेञ्जी शेर्पामार्फत् उनी इलाम आएको सम्झन्छन् । ‘इलाममा दूध धेरै नै उत्पादन हुन्छ भन्नेसम्म त थाहा थियो तर यहाँ आउन निमाले सहायता गर्नुभो,’ उनले भने, ‘इलाम आएर पशुपतिनगर–३, हिलेमा निमातेञ्जी, लक्षिन्द्र भट्टचन, म र पोखराका लालकाजी गुरुङले संयुक्त रूपमा प्रशान्ति दुग्ध डेरी उद्योग खोल्यौं । म लगानीसहितको प्राविधिक थिएँ, अरू लगानीकर्ता ।’ त्यहाँ खुवा, घिउ, छुर्पी उत्पादन गरिन्थ्यो । तर, गाउँको सबै दूध भारत जान्थ्यो त्यतिबेला । पशुपतिनगरको उद्योग बन्द गरेर २०६३ सालमा आफू अहिलेको स्थान (देउराली) आएको उनले बताए ।
देउरालीमा आएर शेर्पाले प्रशान्ति डेरीको शाखा खोले । ‘त्यतिबेला चीजको माग ज्यादै कम थियो, पर्यटक कम आउने हुनाले चीज बिक्तैनथ्यो,’ उनले भने, ‘दूध पनि १०–१२ रुपैयाँ लिटर मात्रै थियो ।’ देउरालीमा उनले २ लाख रुपैयाँ लगानीमा उद्योग खोले । दूध प्रतिलिटर ८ रुपैयाँ मात्रै थियो । ‘मैले उद्योगमा दूध ल्याउने किसानलाई प्रतिलिटर १५ रुपैयाँ ९० पैसा दिन थालेपछि दिनमा २ सय लिटरसम्म दूध भेला हुन थाल्यो,’ उनले भने, ‘फाइदा त मलाई धेरै थिएन तर उद्योग स्थापित गर्न दूध पुग्दो भयो ।’
२०६८ सालदेखि उद्योग एकलौटी बनाएर शेर्पाले उद्योगमा लगानी बढाए । त्यतिबेलासम्म चीजको भाउ पनि बढेको थियो । दूधको मूल्य पनि क्रमसः बढाउँदै लगियो । ‘तर, उद्योग आर्थिक रूपले जोखिममै चलेको थियो,’ उनले भने, ‘चीज राम्रो बिक्न थालेपनि लगानी बढाउनुपरेकाले फाइदा त्यति थिएन । दिनको २० किलोजति चीज र केही किलो घिउ मात्रै उत्पादन हुन्थ्यो ।’
आफूले उत्पादन गरेको चीजको बजार प्रबद्र्धनका लागि उनलाई नेपाल डेरी उद्योगले सघायो । विक्रीका लागि उसले सहयोग गरेपछि शेर्पाको उद्योग फस्टाउन थाल्यो । उद्योगमा करिब ८ लाख रुपैयाँ लगानी भइसकेको थियो । तर, वर्षमा १८ लाख रुपैयाँजतिको चीज बेच्दा उनलाई फाइदा रहँदैनथ्यो । ‘चीजको माग बढेकाले मात्रै उद्योग फस्टाउने आस थियो, नत्र यो काममा निरासासमेत लाग्थ्यो बेला–बेला,’ उनले भने, ‘बर्खामा चीज बिग्रिने, उत्पादनका गुणस्तर कायम गर्न गाह«ो हुने हुन्थ्यो ।’
उन्नतिसँग यसरी जोडिए शेर्पा
२०७३ सालतिर उनले उन्नति भन्ने एउटा संस्थाले दूध र चियामा लगानी गर्छ भन्ने थाहा पाए । उनलाई त्यसप्रति चासो बढ्यो । इलाममा उन्नति परियोजनाले आयोजना गरेको एउटा कार्यक्रममा सहभागी हुँदा उनले उन्नतिले गर्ने लगानी र आफूले पाउने अवसरबारे बुझे । ‘आफूले गरिरहेको व्यवसायलाई उन्नतिले फाइदा पुग्ने बुझेपछि प्रक्रिया अघि बढाएँ,’ उनले भने, ‘उन्नति परियोजनाका सरहरूले पनि सहयोग गर्नुभयो, अहिले उद्योग फस्टाएर यतिको फाइदामा जानु उन्नतिकै लगानीको देन हो ।’
उनले उद्योगको विगत, वर्तमान र भविष्यमा किसानलाई पुग्ने फाइदासमेतको योजना उन्नति परियोजनामा बुझाए । त्यतिबेला उद्योगमा करिब २ सय किसानले दूध ल्याउँथे । परियोजनासँगको सहकार्यपछि यहाँ दूध ल्याउने किसानको संख्या साढे चार सय पुगेको उनले बताए । १० सहकारी संस्थाले अहिले उद्योगमा दूध ल्याउँछन् ।
उद्योगका लागि परियोजनाले कूल ३७ लाख ७३ हजार रुपैयाँ अनुदान दिएको छ । परियोजनाले चीज राख्ने ८ मिटर चौडाई र १३ मिटर लम्बाईको फेब्रिकेटेड कोल्डस्टोरका लागि लगानी सहयोग गरेको छ । २५ वटा स्टिल ¥याक रहेको कोल्डस्टोरमा १४ हजार किलो चीज एकैपटक सुरक्षित तरिकाले भण्डारण हुने गरेको उनले बताए । उन्नति परियोजनाले कोल्डस्टोरका लागि १० लाख, कोल्डस्टोरमा राखिएका स्टिल ¥याकलाई २ लाख ५० हजार, गाडी खरिद गर्न १० लाख ६२ हजार ५ सय, विद्युत् ट्रान्समिटर खरिदका लागि १ लाख ८६ हजार ५ सय, तालिम सञ्चलन गर्न ७ लाख ८७ हजार ५ सय रुपैयाँ शेर्पा डेरीलाई सहयोग गरेको छ । कोल्डस्टोरको भुइँमा बिछ्याउने टायलका लागि २ लाख ७६ हजार ५ सय ७ र सक पिटका लागि २ लाख रुपैयाँ सहयोग गरेको परियोजनाको इलामस्थित कार्यालयका केशव सिलवालले बताए । ‘यो सहयोग उन्नतिको मात्रै हो,’ उनले भने, ‘मेसिनरीमा ५० प्रतिशत र तालिममा ९० प्रतिशत लगानी परियोजनाले गरेको हो ।’
उन्नति परियोजनाको सहयोगबाट उद्योगमा अहिले चीज लामो समयसम्म भण्डारण गर्न, लामो समयसम्म चीजको गुणस्तर कायम राख्न सहयोग पुगेको उनले बताए । ‘कोल्डस्टोर नहुँदा बर्खामा बनाएको चीज टिकाउन साह«ै मुस्किल थियो, सयौं किलो चीज हुस्सुले कुहिएर फ्याँक्नुसमेत परेको थियो,’ उनले भने, ‘कोल्डस्टोर बनाएपछि धेरै फाइदा पुगेको छ । अब हिउँद–बर्खा कहिल्यै चीज बिग्रिनेछैन ।’ खास ८ देखि १२ डिग्री सेल्सियस तापक्रममा चीज राख्नुपर्ने भएपनि कोल्डस्टोरमा ८ देखि १५ डिग्रीमा चीज राख्दा ६ महिनासम्म नबिग्रने उनले बताए ।
परियोजनाको सहयोगमा तयार पारेको सकपिटले डेरीबाट दूध प्रशोधनपछि उत्पादन भएको पानी व्यवस्थापन गर्न सजिलो भएको छ । यसरी निस्केको पानीको व्यवस्थापन नहुँदा डेरी वरपर फोहोर हुने, गन्हाउने, झिँगा भन्किने गथ्र्याे । तर, अहिले सकपिट भएपछि त्यस्तो पानी ड्रममा हालेर स्थानीय बंगुरपालक किसानलाई प्रतिलिटर ५० पैसाले बेच्ने गरेको शेर्पाले बताए । दिनमा २ हजार निस्किने यो पानी राख्न १० हजार लिटर क्षमताको सकपिट राखिएको छ । कोल्डस्टोरको भुइँमा टायल बिछ्याएपछि भुइँको चिसो कम भएको, चीज सफा राख्न, माटो, सिमेन्टबाट चीजलाई बचाउन सहयोग पुगेको छ ।
परियोजनाको लगानी साझेदारीमा खरिद गरेको गाडीमा दूध संकलन गर्न र उत्पादित चीज बजारसम्म पु¥याउन सहयोग पुगिरहेको छ । ‘उन्नतिले चीज उत्पादनमा सहयोग गरेकैले किसानले दूध उत्पादनमा पनि फाइदा लिएका छन्,’ उनले भने, ‘दूधको मूल्य बढाउन र घाँस उत्पादनमा उन्नतिले दिएको सहयोग हाम्रो उद्योगमार्फत् किसानसम्म पुगेको छ ।’
उद्योगमा दैनिक अहिले १ हजार ७ सय लिटर दूधबाट १ सय ५३ किलो र वार्षिक ६० हजार किलो चीज उत्पादन भइरहेको छ । यहाँ दैनिक १० किलो घिउ उत्पादन हुन्छ । चीज अहिले प्रतिकिलो ७ सय ५० रुपैयाँमा र घिउ प्रतिकिलो ६ सय ५० रुपैयाँमा डेरीबाटै विक्री भइरहेको उनले बताए । १ किलो चीज उत्पादन गर्न साढे ६ सय रुपैयाँ लाग्ने गरेको उनको भनाइ छ । उन्नतिको सहयोगपछि किसानले दूधको मूल्य बढी पाएको शेर्पाको भनाइ छ । उन्नतिले सहयोग गर्नुअघि ३२–३३ रुपैयाँ प्रतिलिटरको दूध अहिले मूल्य बढ्दा किसानलाई फाइदा भएको छ । ढुवानी कटाउँदा पनि किसानले घरमै प्रतिलिटर ४०–४२ रुपैयाँ पाइरहेका छन् । शेर्पाले उद्योगमा प्रत्यक्ष काम गर्ने ७ कर्मचारीमध्ये नयाँ कर्मचारीलाई १३ हजार र पुराना कर्मचारीलाई १५ हजार रुपैयाँ तलब दिइरहेको बताए । दूध, चीज ढुवानी, विक्रीमा सहयोग गर्नेले पनि रोजगारी पाइरहेका छन् ।
‘पहिलो प्राथमिकता किसानलाई, दोस्रोमा कर्मचारी र तेस्रोमा मात्र आफूलाई राखेको छु,’ उनले भने, ‘गतवर्ष २ करोड ८६ लाख रुपैयाँमा किसानबाट दूध खरिद गरेको थिएँ । यसबाट आएको नाफाबाट किसानलाई ४ लाख रुपैयाँ त बोनस नै वितरण गरेको थिएँ ।’ उत्पादित चीज काठमाडौं, पोखरा, धरानलगायतका बजारमा विक्री हुने गरेको छ ।
उद्योगमा नमुना दुग्ध सहकारी, टोड्के दुग्ध सहकारी, सिर्जनशील सहकारी, फेवा दुग्ध सहकारी, सुनाखरी दुग्ध सहकारी, गौरी दुग्ध सहकारी, लालीगुराँस दुग्ध सहकारी, चाम्लिङडाँडा दुग्ध सहकारी, माइपोखरी दुग्ध उत्पादक सहकारी र याक्पी दुग्ध उत्पादक सहकारीका किसानले उत्पादन गरेको दूध ल्याउने गरिएको छ ।
स्थानीय १ सय ८५ किसानलाई उन्नत घाँस खेती तथा गाई पालनसम्बन्धी पटक–पटक गरेर चार–चार दिने तालिम दिइएको छ । तालिमपछि स्वच्छ दूध उत्पादन, गाईलाई पोसिलो तत्व भएको घाँस खुवाउने, अन्न खुवाउनेजस्ता विषयमा किसान जानकार भएका छन् । उद्योगबाट प्राविधिक ज्ञान लिएपछि किसानले उत्पादन गर्ने दूधको मात्रा पनि बढेको शेर्पा बताउँछन् । उद्योगले प्रत्येक किसानलाई ५ किलो घाँसको बीउ वितरण गरेको उनले बताए ।
शेर्पाको प्रगतिले धेरैलाई दूधको व्यावसायिक काममा लोभ्याएको छ । गाउँमै चीज वा दूध प्रशोधन केन्द्र स्थापना हुँदा मिल्क होलिडेको पनि समस्या नहुने भएकाले स्थानीय किसान खुसी छन् । यसअघिसम्म जिल्लाबाहिरका विभिन्न डेरी र उद्योगहरूमा दूध बेच्दा कहिले मिल्क होलिडे त कहिले मौसम अनकूल नहुँदा किसानले सास्ती खेप्नुपरेको थियो । गाउँमै स्थापना भएको डेरीमा दूध बेच्न थालेपछि पुराना समस्या नदोहोरिएको किसान बताउँछन् ।
शेर्पाले पनि किसानका लागि आफूले सकेको सहयोग गरिरहेका छन् । ‘अब किसानलाई चिलिङ पनि राखिदिने सोचेको छु,’ उनले भने, ‘चिलिङ दूध संकलन केन्द्रमै राखिदियो भने किसानको दूध कहिल्यै बिग्रन पाउँदैन, किसानलाई घाटा हुँदैन ।’ उनले डेरीमा चीज उत्पादन गर्दा खेर जाने दूधको पानी अहिले स्थानीय किसानलाई नै बेचिरहेका छन् । अब आफैं बंगुरपालन गरेर त्यसको सदुपयोग गर्ने सोच बनाएको उनी बताउँछन् ।
विगतमा भन्दा अहिले चीजको बजार पनि राम्रै भएका उनी आफ्नो व्यवसायमा अझ जाँगर चलाउँदैछन् । नेपाल घुम्न आएका विदेशी पर्यटकले बढी मन पराउने चीज ठूला सहरका होटलहरूमा पु¥याउन सके यसले मूल्य पनि रामै पाउने उनको अनुभव छ । ‘देशभित्र मात्र होइन, विदेशीले रुचाउने किसिमको गुणस्तरीय चीजको बजार देशबाहिर पनि छ, बजार पहुँच चाहिँ पुग्नुपर्छ,’ उनले भने, ‘देशमा राजनीतिक स्थितरता र शान्ति–सुरक्षा राम्रो भएका बेला चीज बेच्न समस्या पनि छैन ।’ पशु तथा कृषि विकासको क्षेत्रमा उल्लेखनीय योगदान गरेवापत् शेर्पाले पशुसेवा विभागबाट उत्कृष्ट दुग्ध व्यवसायी पुरस्कार–२०७४ पनि प्राप्त गरेका छन् ।


1116 पटक हेरिएको 






