नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले मिडियाहरु समावेशी हुनु पर्ने बताएका छन् ।
मिडियाहरु जनशक्तिसँगै समाचारमा पनि समावेशी हुनुपर्ने पूर्व अध्यक्ष झाले बताए । उनले भने, ‘मिडियाहरु पूर्ण रुपमा समावेशी हुनका लागि कन्टेन र जनशक्ति दुवैमा समावेशी हुन पर्दछ ।’ इलाममा सोमबारदेखि शुरु भएको पाँच दिने खोज पत्रकारिता तालिको उद्घाटन कार्यक्रममा बोल्दै उनले आफ्नै कार्यकालमा पत्रकार महासंघलाई पनि समावेशी बनाएकोे बताए ।
नेपाल आदिवासी जनजाति पत्रकार महांसघ (फोनिज) केन्द्रीय समितिको आयोजनामा ‘उत्तरदायी व्यवसायका लागि अन्तर्राष्ट्रिय श्रम संगठनका मापदण्ड तथा आधारहरु’ विषयक तालिम सुरु भएको हो ।
अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा संचालित तालिममा पूर्वका ७ जिल्लाका २१ जना व्यवसायिक आदिवासी जनजाति पत्रकारहरुको सहभागिता रहेको छ । प्रशिक्षणमा इलाम, पाँचथर, तेह्रथुम, भोजपुर, संखुवासभा र धनकुटाबाट सहभागी छ । तालिममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले प्रशिक्षण दिइरहेका छन् ।
तालिमको उद्घाटन प्रमुख अतिथी नेपाल आदिवासी जनजाति पत्रकार महांसघ (फोनिज) का १ नम्बर प्रदेश इन्चार्ज दिपीन राईले गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै इन्चार्ज राईले नेपालमा समग्र आदिवासी जनजाति र मधेसी मुलका पत्रकारको उदय भएकै कारण भाषा, संस्कृति र अधिकारको उत्थानमा सहयोग पुगेको दावी गरे । उनले अनिजबाट फोनिज हुँदै देशव्यापी आदिवासी जनजाति पत्रकारहरुलाई उठाउन फोनिज सक्रिय रहेको बताए । कार्यक्रमका अन्य वक्ताहरुले प्रशिक्षणबाट लिएका सीपलाई व्यवहारिक जीवनमा प्रयोग गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगू, फोनिजका संघीय सदस्य ख्याम भुजेल, नेपाल आदिवासी जनजाति महासंघ इलामका अध्यक्ष अभिषेक येक्तेन, नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश उपाध्यक्ष सोम सुसेली, इलाम शाखाका सहसचिव राजेश पराजुली लगायतले मन्तव्य राखेका थिए ।
फोनिज इलामका अध्यक्ष तथा परियोजना जिल्ला संयोजक राम योङहाङको अध्यतामा भएको कार्यक्रमको औचित्य परियोजना संयोजक गंगा गुरुङले राखेकी थिइन् । नेपाल आदिवासी जनजाति पत्रकार महांसघ (फोनिज) इलामकी सहसचिव सृजना श्रेष्ठले संचालन गरेको कार्यक्रमको स्वागत फोनिज इलाकी उपाध्यक्ष कौशीला राईले राखेकी थिइन् ।