बजेट अभावले आठ वर्षमा पनि पुरा भएन खानेपानी आयोजना

  सरलपाटी सम्वाददाता

 891 पटक हेरिएको


मान्द्रेनी खानेपानी आयोजना निर्माण शुरु हुँदा बरबोटेबासीलाई चाडै खानेपानीको समस्याबाट उन्मुक्ति पाइएला भन्ने लागेको थियो । खानेपानी आयोजना बन्न थालेको आठ वर्ष वित्न लाग्दा पनि उनीहरुको सपना साकार भएको छैन ।
सन्दकपुर गाउँपालिकाको सुकुवा खोलाको दोभानेबाट ल्याइएको पानी चारखाँदेसम्म आइपुगेको छ । त्यसयता आवश्यक संरचना बनाउन रकम नहुँदा बरबोटेबासीले खानेपानी पाउन सकेका छैनन् । आयोजनाका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा आठ वर्षमा पनि आयोजना पुरा नभएको हो । एघार करोड लागतको खानेपानी आयोजनामा अहिलेसम्म चार करोड ५१ लाख रुपैयाँ रकम खर्च भएको छ ।
बाँकी संरचना बनाउन तीन करोड हाराहारी रकम आवश्यक पर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इलामले जनाएको छ । आठ वर्षअघि शुरु भएको खानेपानी आयोजनामा सरकारले एक आर्थिक वर्षमा एक करोड ३२ लाख, र अर्को एक आर्थिक वर्षमा ९० लाख रुपैयाँ रकम विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा २३ लाख रुपैयाँ मात्रै रकम विनियोजन भएको छ ।
त्यसअघि पनि बर्षको २० लाख रुपैयाँ भन्दा बढि रकम विनियोजन गरिएन । पर्याप्त बजेट नहुँदा आयोजना लम्बिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालका इञ्जिनियर विनोद योञ्जनले बताए । सरकारले वर्षको २० लाख हाराहारी मात्रै बजेट उपलब्ध गराए अबको १५ वर्षमा मात्रै आयोजना पुरा हुन्छ । जति कम बजेट हुन्छ, लागत उत्तिकै बढेर जानेछ ।

अहिलेसम्ममा खानेपानी आयोजको इन्टेकको काम भइसकेको छ । १९ किलोमिटर पाइपलाइन निर्माण सकिएको छ । पाइपलाईनलाई संरक्षण गर्न प्रोटेक्सन पिलर समेत निर्माण भइसकेको छ । रफिङ फिल्टर निर्माणको अन्तिम चरणमा पुगेको छ । अब तीन किलोमिटर मुख्य पाइप लाइन र १० किलोमिटर वितरण लाईन विस्तार गर्नुपर्ने छ ।
पर्याप्त बजेट विनियोजन नुहँदा आयोजना पुरा हुन लामो समय लागेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष मनराज जवेगूले बताउँछन् । ‘आयोजनाको लागत ठूलो छ तर सरकारले थोर थोरै पैसा दिन्छ’–उनले भने–‘त्यसैले अहिलेसम्म पनि काम पुरा हुनसकेको छैन ।’
प्रतिसेकेण्ड ६ लिटर पानी आउने आयोजनाबाट सात हजार बासिन्दा लाभान्वित हुने छन् । तर, निर्माणमा भइरहेको ढिलाइले स्थानीय वाक्क छन् । खानेपानी डिभिजन कार्यालयले भने थप बजेटको लागि पहल भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार