नयाँ मुलुकी संहिताले बाटो खोलि दिएपछि इलाममा पुरूषहरूले पनि सम्बन्ध विच्छेद गर्न अदालत पुग्न थालेका छन् । नयाँ कानूल लागू भएको मिति भदौ १ गते यता जिल्लामा आठ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको जिल्ला अदालत इलामले जनाएको छ ।
लामो समयदेखि पतिपत्नी सँगै नबसेका र पत्नीको कारण देखाउँदै ती पुरूषहरूले सम्बन्ध विच्छेद गर्न मुद्दा दर्ता गराएको अदालतका श्रेस्तेदार निराज पोख्रेलले जानकारी दिए । दर्ता भएको मुद्दाको अन्तिम किनारा भने लागिसेको छैन । ‘अहिले सम्म महिलालेमात्र सम्बन्ध विच्छेद गर्न पाउने कानून थियो, नयाँ कानून आएपछि पुरूष पनि मुद्दा लिएर आउन थालेका छन् ।
‘तर, बाबु–आमाले सम्बन्ध विच्छेद गरेर आ–आफ्नो बाटो लागेपछि उनीहरूबाट जन्मिएका छोराछोरी भने बाबु–आमाकै मायाबाट बञ्चित हुने गरेको पाइएयो’ पोख्रेलले भने ‘दुईबीच सम्बन्ध तोडिएपछि छोराछोरी माथिको कतव्र्यबाट पनि मुक्त भएजस्तो ठानेको महशुस भयो, छलफलका क्रममा छोराछोरीको भविष्यबारे सम्झाउने गरिएको छ ।’ अझ सम्बन्ध विच्छेद गर्दैगर्दा छोराछोरीलाई ‘बास्केट फन्ट’ बनाएर राखिदेउ अभिभावक नहुँदा पनि उनीहरूले पढ्न र भविष्य सुधार्न सक्छन् भनेर आग्रहनै गर्ने गरेको पोखे्रेल बताउँछन् ।
जिल्ला अदालतमा नयाँ आर्थिक वर्ष शुरू भएयता साउन महिनामा २२ वटा, भदौ र असोजको हाल सम्म २१ वटा तथा पुरूषले सम्बन्ध विच्छेद चाहेका आठ गरि ५१ वटा मुद्दा दर्ता भएका छन् ।
नयाँ मुलुकी संहिताले महिलाका कारण पुरूषले सम्बन्ध विच्छेद चाहेको हो भने महिलालाई अंश दिन नपर्ने पनि व्यवस्था गरेको छ । तीन वर्ष सम्म पतीपत्नी अलग भएर बसेमा पुरुषले पनि सम्बन्ध विच्छेद गर्न कानूनले व्यवस्था गरिदिएको छ । तर, अहिले सम्मका मुद्दाको अवस्था हेर्दा वैदेशिक रोजगारीका कारण सम्बन्ध विच्छेदका बढी मुद्दा आएको पाइएको श्रेस्तेदार पोख्रेलले बताए ।