उम्रिने बित्तिकै रोगले मर्दै मटर

  सरलपाटी सम्वाददाता

 818 पटक हेरिएको

इलाम । इलामका किसानले खेती गरेको मटरमा रोग लागेको छ । नगदेबाली मटरमा रोग लागेपछि किसानलाई लगानी उठाउन समस्या पर्ने देखिएको छ ।
किसानले बारी मटर रोपेर थांग्रा हालिनसक्दै मटरको बिरुवा रोगले मर्न थालेको हो । बोट पहेंलो भएर फेद कुहिन थालेपछि मटर बिस्तारै मर्ने गरेको छ ।
लेकाली भेगका किसानले १ किलोदेखि ८० किलोसम्म मटर खेती गरेका छन् । तर, थाङ्ग्रा हालेको मटर फेद कुहिँदै सुकेर गएको किसानको गुनासो छ । जिल्लाको साखेजुङ गाउँकी मायादेवी राईले खेती गरेको मटरको बिरुवा फेद कुहएिर सखाप भइसकेको बताइन् । ‘७ किलो मटर रोपेकी थिएँ, थाङ्ग्रामा चढ्न नपाउँदै सबै स्वाहा भयो,’ उनले भनिन्, ‘मटर मासेर अरू खेती गर्न मटरलाई हालिसकेको थाङ्ग्रा उखेल्दैछु ।’ उनले रोपेजति सबै मटर नास भएर गएकाले थाङ्ग्रा निकालिसक्न लागेको बताइन् ।
भर्खरै उम्रिएको मटरको फेदमा खुम्लेकीरा लागेको छ । सुरुमा बिरुवा पहेंलो हुने र त्यसपछि पात सुक्दै बोट मर्ने लक्षण मटरमा देखिएको छ ।
माटोमुनि खनेर हेर्दा खुम्लेकीरा भेटिन्छ । ‘रोपेको जति सबै मटरको बिरुवा १ फुट अग्लो नहुँदै मासिइसक्यो,’ माइजोगमाई गाउँपालिकाका पदम अधिकारीले भने, ‘घरायसी उपचार पनि के गर्ने भन्ने थाहा भएन ।’
जिल्लाका इलाम, देउमाई, सूर्याेदय नगरपालिका, रोङ, माइजोगमाई, सन्दकपुर गाउँपालिकालगायतमा हजारौं किसानले मटरको व्यावसायिक खेती गरिरहेका छन् । तर, मटरले बर्सेनि उम्रिनेबित्तिकै बोट मरेर हैरान पारेको उनीहरूले जनाएका छन् ।
केही वर्षअघिसम्म धेरै परिमाणको मटरबीउ रोप्ने किसान पनि रोगले मटर मासिन थालेपछि खेती घटाइरहेका छन् । प्राविधिक ज्ञान अभावले किसानले मटर उत्पादन घटाउनुपरेको बताएका छन् । ुउत्पादन गर्दा विक्री त राम्रै हुन्छ तर मटरखेतीलाई हुस्सु, बढी चिसोबाट पनि बचाउनुपरेकाले यो खेती निकै संवेदनशील हुन्छ,’ सन्दकपुर गाउँपालिकाका किसान सोम खतिवडाले भने, ‘पहिला निकै रोपिन्थ्यो, घरखर्च चलाउन मटरको ठूलो भर थियो, अचेल मटर बचाएर उत्पादन बेच्नै मुस्किल पर्छ ।’
रोग र बिक्री समस्याका कारण मटरमा किसानले वर्षाैंदेखि घाटा बेहोरिरहेका थिए । केही वर्षयता भने उत्पादन घटाएपनि किसानले मटरको भाउ चाहिँ अलि बढी पाउन थालेका थिए । तर, रोगले मासिएपछि मटरखेतीमा किसान निरास हुन थालेका छन् ।
जिल्लामा उत्पादित मटर स्थानीय बजार, सीमावर्ती मानेभञ्ज्याङ, भारतका दार्जिलिङ, मिरिक, सिलिगुडीलगायतका बजारमा विक्री हुने गरेको छ । सदरमुकामस्थित कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक चिन्तामणि आचार्यले मटरलाई लागेको रोग के हो भन्ने आफूले प्रत्यक्ष हेरेर मात्र भन्न सक्ने बताए ।
‘मटरलाई विभिन्न कारणले रोग लागेको हुनसक्छ, मैले पछिल्लो पटक लागेको रोगबारे जानकारी पाएको छैन । रोप्दा काँचो गोबर प्रयोग गरेको छ भने फेदमा खुम्लेकीरा लाग्छ,’ उनले भने, ‘मटरको बिरुवाको फेदमा माटोमुनि कपडा राख्दा खुम्ले बाहिर आउँछ ।’ उनले गहुँत र गोबरको लेदो बनाएर मटरबारीमा छिट्दा खुम्लेकीरा हट्नसक्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार