काठमाडौं । नेपाल राष्ट्र बैंकले आजबाट वडा दसैंका लागि नयाँ नोट (सफा तथा सुकिला नोट) साटन् सकिने जनाएको छ । राष्ट्र बैंकले आफू मातहतका कार्यालय, सरकारी स्वामित्वका तीन वाणिज्य बैंक र निजी बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट सटही सुविधा दिने भएको छ ।
यस वर्ष एक जना व्यक्तिले अधिकतम २७ हजार रूपैयाँसम्म नयाँ नोट साट्न पाउने छन् । केन्द्र बैंकले ५, १०, २०, ५० र १ सय दरका नयाँ नोट साट्न सकिने जनाएको छ । केन्द्र बैंकले हरेक वर्ष जस्तै यस वर्षपनि वडा दशैंका लागि नयाँ नोट सटही सुविधा दिने भएको प्रवक्ता नारायण प्रसाद पौडेलले बताए।
केन्द्र बैंकले सवै बैक तथा वित्तीय संस्थालाई नयाँ नोट उपलब्ध गराई सकेको छ । तसर्थ, आफूलाई पायक पर्ने नजिकैका बैंक तथा वित्तीय संस्थाबाट नोट सटही सुविधा लिन सकिने प्रवक्ता पौडेलले जानकारी दिए ।
यसका अलवा राष्ट्र बैंकको काठमाडौं उपत्यका र उपत्यका बाहिर रहेका सवै कार्यालयहरु र सरकारी स्वामित्वका वाणिज्य बैंकका शाखा कार्यालयबाट पनि नयाँ नोट साट्न सकिने छ ।
राष्ट्रिय वाणिज्य बैंकको सिंहदरवार प्लाजा, टेकु, नयाँ वानेश्वर, सानो ठिमी, विशालबजार, कलंकी र बालाजु शाखाबाट नयाँ नोट साट्न सकिने छ ।
त्यस्तै, नेपाल बैंक लिमिटेडको न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरापटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट पनि नयाँ नोट साट्न सकिने छ । कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भु र मंगलबजार शाखाबाट पनि नयाँ नोट साट्न सकिने छ ।
यस वर्ष कुल १३ अर्ब रुपैयाँ बराबरकाे नयाँ नोट साटिने अनुमान गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौंलाले जानकारी दिए । आवश्यक सम्पूर्ण रकम निजी बैंक तथा वित्तीय संस्था, केन्द्र बैंकका कार्यालय र सरकारी स्वामित्वका वाणिज्य बैंकहरुमा पठाई सकिएको निरौंलाले बताए ।