इलाम । इलाममा पशस्तै किवी उत्पादन हुनथालेपछि सरकारले किवीलाई व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र विकास कार्यक्रम (जोन) कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत किवी जोन कार्यक्रम सञ्चालन गर्ने क्षेत्रको समेत छनोट गरिएको छ । विहीबार किवी किसान र स्थानीय तहका जनप्रतिनिधि सहभागी बैठकले सन्दपुर गाउँपालिकाको पाँचै वडा र इलाम नगरपालिकाको १, २ ३ र ४ नम्बर वडामा किवी जोन कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको हो । जोनमा नपरेको क्षेत्रमा भने पकेट ब्लक कार्यक्रम सञ्चालन समेत निर्णय भएको छ । यस क्षेत्रलाई किवी जोनको रुपमा विकास गर्न माग हुँदै आएको थियो । ब्यवसायिक रुपमा किवीको खेती विस्तार भएपछि किवी जोन घोषणा गर्न किसानले माग गर्दै आएका थिए ।
किवी जोन सञ्चालनको लागि इलाममा छुट्टै कार्यालय स्थापना हुने छ । प्राविधिक जनशक्ति सहितको सो कार्यलयले किवी खेती प्रवद्र्धनको लागि किसानलाई सहयोग गर्नेछ । जोन सञ्चालनको लागि चालु आर्थक वर्षमा एक करोड तीन लाख रुपैयाँ बजेट विनियोजन भएको छ । अर्को वर्षदेखि आवश्यकताका आधारमा कार्यक्रमहरु तय गरिने बरिष्ठ कृषि विकास अधिकृत पशुराम रावलले जानकारी दिए । ‘किवीको उत्पादन बढाएर प्रशोधन केन्द्र स्थापना गर्ने अवस्था सिर्जना हुन्छÕ–उनले थपे–‘त्यसका लागि आवश्यकताको आधारमा विभिन्न कार्यक्रमहरु तयार गरेर कार्यान्वयन गरिनेछ ।Õ
इलामको सुलुबुङबाट शुरु भएको किवी खेती अहिले जिल्लाभर फैलिएको छ । सन्दकपुर गाउँपालिका, माइजोगमाई, इलाम नगरपालिका, देउमाई नगरपालिका, सूर्योदय नगरपालिकामामा किवी खेती भइरहेको छ । करीब एक दशक अघिदेखि इलाममा खेती थालिएको किवी एक गाउँ एक उत्पादनमा परेपछि किसानले चासो दिएर विस्तार गर्दैछन् ।
किवी इलाममा सबैभन्दा बढी आम्दानी हुने १० बालीहरुमा पर्ने गरेको छ । एक वर्षमा इलाममा १३५ मेट्रिक टन किवी उत्पादन हुन्छ । जिल्लाको एक सय १० हेक्टरमा किवीको खेती भइरहेको छ । खेती विस्तार पनि तीब्ररुपमा भइरहेको छ ।
रोपेको तीन वर्षदेखि २५ बर्षसम्म फल्ने भएकाले यसको विस्तारमा किसान लागेका हुन् । किबीको माचमुनिबाट चिया, अलैंची, कुरिलो, चिराइतोलगायत अन्य नगदे तथा जडिबुटी बाली पनि लगाउन सकिने भएपछि किसानले अन्य खेती पनि गर्दै आएका छन् ।
किवी खेतीका लागि पाँचदेखि ६ दशमलव आठ अम्लीयपना भएको प्राङ्गारिक मलसहितको उर्बर जग्गा चाहिन्छ । आठ सयदेखि २९ सय मिटरसम्मको उचाइमा यसको खेती गर्न सकिने जनाइएको छ । नेपालमा ८० प्रतिशत फलफूल बिदेशबाट आयात गरिन्छ । त्यसमा किवी पनि धेरै आयात हुन्छ । नेपालको ४० जिल्लाहरुमा यसको खेती शुरु भइसकेको छ । किवी जापानको स्थानीय फल हो । एक रोपनी जग्गामा नै ५० बोट किवी रोप्न सकिन्छ । औषधीय गुण भएकाले पनि यसको उपभोग बढ्दै गएको ब्यवसायीहरु बताउँछन् । अहिले किवीको अचारदेखि जुस, जेली, जाम बनाउन थालिएको छ । किवीका अन्य परिकारहरुको पनि बजारमा माग बढ्दै गएको ब्यवसायीहरुको भनाई छ ।