
इलाम । बेचविखनको लागि भारत लैजाँदै गरेको तीन बालिकाको प्रहरीले उद्धार गरेको छ । केही दिन अघि रुकुम, सुर्खेत र जाजरकोटबाट ल्याइएको बालिका उद्धारसंगै मानव ओसारपसारमा संलग्न तीनलाई पक्राउ गरिएको छ । तीन मध्ये एकको भारतको दार्जिलिङबाट उद्धार गरिएको हो । भारतीय प्रहरी, माइती नेपालसंगको सहकार्यमा दार्जिलिङ स्थित होटलमा राखिएको अवस्थामा उद्धार गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । दुई बालिकालाई पशुपतिनगरस्थित एक होटलबाट उद्धार गरिएको छ । भारत लगिदै गरेका तीन बालिका मध्ये दुई जना १६ वर्षका र एक जनाको उमेर १५ वर्षको छ ।
मानव ओसार पसारमा संलग्न कालिकोट सन्नीत्रिवेणी गाउँपालिकान ९ घर भएका वर्ष ३० का लोकेन्द्र तिरुवा, २४ वर्षका लंक तिरुवा र २९ वर्षका जनक तिरुवा रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइदैछ ।
उद्धार गरिएका एक बालिकालाई परिवारले जिम्म लिएर लगिसकेका छन् । दुई बालिकालाई माइति नेपालमा राखिएको छ । उनीहरुको आमा बाबुलाई पनि छोरीहरु लिन आउन खवर गरिएको प्रहरी निरीक्षक ओलीले बताए ।
मानव ओसार पसारमा संलग्न तीनै जनाले गाउँमा लगेर कपडा विक्री गर्ने गरेको खुलेको छ । कपडा बेच्न गाउँ पुगेका उनीहरुले बालिकाहरुलाई फकाएर भारत लैजाँदै थिए । फरक फरक मितिमा उनीहरुले बालिकाहरुलाई नेपालगञ्ज ल्याएर राखेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । घुम्नको लागि भन्दै उनीहरुलाई पशुपतिनगर ल्याइएको उनीहरुलाई चोरबाटोबाट हिडाएर भारत पु¥याइएको थियो ।


513 पटक हेरिएको 






