इलाम । इलामको माइपोखरीकी एक युवती दुई वर्ष अघि बलात्कारमा परिन् । बलात्कारमा परेपछि उनले उजुरी दिइन । पिडक पक्राउ परे । जवरजस्ती करणीमा अदालतबाट दोषी प्रमाणीत भएपछि आरोपी सुमन राई कैद भुक्तान गर्दैछन् । तर, ती युवतीलाई पीडकबाट अहिले पनि उत्तिकै त्रास छ । पीडक राईले जेलबाट निस्केपछि हेरौला भन्दै अहिले पनि धम्क्याउने गरेको ती युवतीले बताइन् । ‘एक पटक जेल परिहाल्यो अब निस्केपछि जान्दो गर्छु भन्दै उनको घरमा फोन गर्दा रहेछन्’–पीडित युवतीले भनिन्–‘पहिले बलात्कार गरेर पीडा दियो, अहिले धम्क्याएर झन पीडा दिदैछ ।’ पीडकले आफ्नो घरमा गरेको खवर गाउँघरकालेनै आफूलाई सुनाउने उनले बताइन् ।
इलामको गोलाखर्क भञ्ज्याङमा श्रीमतीको हत्या गरेर पक्राउ परेका मदन लिम्बू पुर्पक्षका लागि थुनामा छन् । मुद्दाको अन्तिम किनारा नलाग्दै लिम्बूले श्रीमतिको आफन्तलाई ज्यान मार्ने धम्कि दिने गरेको आफन्तले बताए । ‘जेल बाट निस्के भने कसैलाई पनि बाँकी राख्दिन भन्दै जेलबाटै धम्क्याउँछन्’–पीडितका आफन्त चन्द्रकुमार नेम्वाङले भने–‘श्रीमतीलाई मार्नेले हामी, छोराछोरीलाई मार्दैन भन्ने के छ ?’
पीडितहरुले प्रहरीका अघि आफूहरु पीडकबाटै त्रसित बनेको बताए । प्रहरीले भने यसरी धम्की दिनेहरुलाई कडा रुपमा निगरानी गरिरहेको बताएको छ । तर, प्रहरीको जवाफबाट पीडितको मन शान्त हुन सकेको छैन । जवरजस्ती करणीमा परेकी ति युवतीको बिहे पनि भइसकेको छ । तर, यस्तो धम्किले परिवारनै त्रसित हुनुपरेको उनले गुनासो गरिन् ।
जिल्ला प्रहरी कार्यालयले पीडितको अवस्था बुझ्नको लागि आयोजना गरेको कार्यक्रममा पीडितले धम्की खेपेको देखि आर्थिक रुपमा ठगिनु परेको समेत गुनासो गरे । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना र जिल्ला न्यायाधिवक्ता रिद्धि निरौला समेत सहभागी भएको कार्यक्रममा मुद्दा मिलाइदिने पैसा लिएको समेत गुनासो गरे । छोराको जवरजस्ती करणीको मुद्दा मिलाइदिने भन्दै केटी पक्ष, बिचौलिया र वकिलाई गरेर चार लाख रुपैयाँ खर्च भएको कुलप्रसाद सार्कीले बताए । ‘पहिले पैसा लिए, छारो जेलबाट नछुटेपछि पहिले दिएको पैसा माग्दा उल्टै धम्क्याउँछन्’–कुलप्रसाद सार्कीले भने–‘नमिल्ने मुद्दामा मिलाइदिन्छु भनेर पैसा लिएका थिए ।’
इलाम नगरपालिका ३ की रेणुका चौहानले चार वर्ष अघि श्रीमानसँग बहुविवाह मुद्दामा पराजित बनेको सुनाउँदै भनिन् ‘जुन महिलासँग श्रीमानको सम्बन्ध छ भनेर बहुविवाह मुद्दा गर्दा पराजित भएको थिए, उसैको कोखबाट जन्म भएको छ ।’ ती महिलाले आफ्नो पक्षमा वकपत्र गर्नेलाई भगाएर मुद्दा कमजोर पारिएको बताउँदै श्रीमानबाट अंश समेत नपाएको दुखेसो पोखिन । ‘उसले न छोराछोरीलाई हेरेको छ, नत मलाई । छोरो बिरामी छ । काठमाडांैमा राखेर उपचार गराउँदैछु ।’–उनले अघि भनिन्–‘छोराको उपचारमा जाँदा काठमाण्डौमा के गरेर बस्छे भनेर सोध्छन्, यता बहुविवाह पुष्टि नभएको महिलाले श्रीमानसँगको सम्पर्कबाट बच्चा जन्माएर बसेकी छ । अंश माग्दा अहिलेसम्म पाएको छैन, म न्याय खोज्न कहाँ जाउँ ?’