इलाम । बच्चा जन्माएर जिउँदै फ्याँकेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेकी फाकफोकथुम गाउँपालिका– ७ का २३ वर्षीय मिना देवान विरूद्ध जिल्ला अदालतले असोज १४ गते जन्म कैदको सजाय सुनाएको छ । जिल्ला न्यायधिस इन्द्रकुमार चोङ्गटेन्लीको इजलासले मिना विरूद्ध मुलुकी ऐनको ज्यान सम्बन्धी महलको १३(३) बमोजिम जन्म कैद सुनाएको अदालतका श्रेस्तेदार निरज पोख्रेलले जानकारी दिए । पोख्रेलका अनुसार जीउँदो बच्चा फालेको र उपचारका क्रममा मात्र मृत्यु भएको हुँदा न्यायधिसले मिनालाई पाँच वर्ष कैद सजाय हुने राय पनि व्यक्त गरेको बताए । तर, उच्च अदालत र सर्वोच्चले पाँच वर्षको राय सदर गरेमात्र पाँच वर्ष कैद हुने नत्र जिल्ला अदालतको फैंसलानै सदर गरिदिए जन्म कैद हुने जिल्ला न्यायधिवक्ता ऋद्धि निरौलाले जानकारी दिए । ०७५ चैत २२ गते बेलुका ९ बजेतिर नवजात शिशु जन्माएर बारीमा फ्याँकेको र शिशु रोएको आवाज सुनेपछि गाउँलेले प्रहरीमा खबर गरेका थिए । चैत २३ गते मिनालाई प्रहरीले गिरफ्तार गरेको थियो । विवाहित मिनाका पति वैदेशिक रोजगारीमा रहेको र अवैध सम्बन्धबाट बच्चा जन्मिएपछि मिनाले बच्चा फालेको जनाइएको छ ।