पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले पछिल्लो समयमा मुलुकमा अशान्ति, महङ्गी र आतङ्क बढेको बताएका छन् । श्रेष्ठले बलात्कार तथा अपराधिक गतिबिधि बढेपछि सर्वसाधारण त्रसित रहेको बताएका हुन् । प्रेस युनियन इलामको आठौं अधिवेशनमा सन्दर्भमा इलाम आइपुगेका श्रेष्ठले वर्तमान सरकारले प्रेसलाई घेराबन्दी गर्न खोजेको आरोप लगाए । नेपाली कांग्रेसका नेता समेत रहेका श्रेष्ठले कांग्रेस सधै प्रेस स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गरे । श्रेष्ठले वर्तमान सरकारको काम प्रति कोही पनि सन्तुष्ट नरहेको आरोप लगाए । ‘सरकारले गरेको काममा कोही पनि सन्तुष्ट छैनन् ।’ श्रेष्ठले भने,‘प्रदेशका मुख्यमन्त्रीहरु नै सरकारसँग असन्तुष्ट रहेका छन् ।’ यस्तै कांग्रेस नेता भीष्मराज आङदाम्बेले कांग्रेस सच्चिनका लागि भातृसंगठनहरु व्यवस्थित गर्नुपर्ने बताए । उनले कांग्रेसलाई अहिले नै व्यवस्थित बनाउन नसके भविष्य खतरामा रहेको जानकारी गराए । यसै अवसरमा नेपाल प्रेस युनियन इलामले तीनजना सन्चारकर्मी र एक सञ्चारउद्यमीलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा ंयुनियनका केन्द्रीय सदस्य युवराज गौतम, सोम सुसेली, विजयशेर भट्टराई र सञ्चारउद्यमी डम्बर खड्का ररहेका छन् । उनीहरुलाई गौतम इमेजखबर डटकम, सुसेली रेडियो नेपालवाणी एफएम र भट्टराई नेपाल टेलिभिजनमा आवद्ध सञ्चारकर्मी कार्यरत रहेका छन् भने खड्का इलामबाट प्रसारित चियाबारी एफएमका सञ्चालक हुन् ।