मनोरञ्जन, नाँचगान, वतृत्वकला, विचार गोष्ठि यसरीनै बाल दिवश औपचारिक रुपमा मनाउने परम्परा यस वर्ष पनि देखियो । तर, यस्तै कार्यक्रमहरुको भीडमा एउटा पृथक कार्यक्रम पनि गरियो, त्यो पनि विद्यार्थीहरुको अगुवाईमा ।
माउण्टमेरी बोर्डिङ्ग स्कूल विब्ल्याँटेका विद्यार्थीहरुले परम्परागत ढर्राभन्दा फरक ढंगले यस पटकको बाल दिवश मनाएका छन् । विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाए । त्यसमा शिक्षकहरुले केही रकम थपे । शिक्षकहरुको समेत सहयोगमा विद्यार्थीहरुले अमर मावि बरबोटेमा रहेको वौद्धिक अपाङ्गता स्रोत कक्षाका २६ जना वौद्धिक अपाङ्ग विद्यार्थीहरुलाई भोज खुवाए । त्यो पनि विद्यायमै पुगेर ।
विद्यालय पुगेका माउण्टमेरीका विद्यार्थी र शिक्षकहरुले वालदिवशको केक काटे, सबैलाई केक खुवाए । केकसँगै मिठो भोज खुवाए । अनि उनीहरुसँगै नाँचगानमा सरिक भए । बाल दिवशमा साङ्ग बालबालिकाहरुका लागि थुप्रै कार्यक्रमहरु आयोजना भएपनि वौद्धिक अपाङ्गगता भएका बालबालिकाहरुका लागि भने कसैले कार्यक्रम आयोजना नगर्दा बालदिवशका दिन पनि उनीहरु न्यास्रो मानेर बस्नु पथ्र्यो । तर, यस पटक भने माउण्टमेरीका विद्यार्थीहरुले उनीहरुलाई पनि बालदिवशमा सरिक गराए । माउण्टमेरीका साङ्ग विद्यार्थीहरुसँगै मिठो परिकार खाँदै नाँचगानमा रमाए ।
विद्यार्थीहरुले सामाजिक काम पनि सिकूँन, वौद्धिक अपाङ्गता भएका बालबालिकाले पनि बालदिवश मनाउन् भनेर विद्यार्थीहरुको सक्रियतामा यो कार्यक्रम गरेको माउण्ट मेरीका प्रिन्सिपल अनिल प्रधानले बताए । ‘हामीले विभिन्न प्रतियोगिता गरेर आफ्नै विद्यालयमा बालदिवश मनाएको भएपनि हुन्थ्यो’ प्रधानले भने, ‘तर, हामीले परम्परागत रुपमा भन्दा पनि विद्यार्थीहरुले फरक कुरा सिकुन भन्ने उद्देश्यले यस्तो कार्यक्रम गरेका हौं।’
माउण्टमेरीका विद्यार्थीहरुको यो कार्य नौलो र उदाहरणीय भएको अमर माविका प्रअ सोमनाथ निरौलाले बताए । वौद्धिक शसक्तिकरण केन्द्रका कमल साम्पाङ्गले पनि आफ्नै उमेरका वौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई सम्झेर बालदिवश मनाउनु स्वागत योग्य भएको बताए ।