अरूतिर राेकिएपिछ चुलाचुलीमा हात्तीको उपद्रो

  सरलपाटी सम्वाददाता

 371 पटक हेरिएको

इलाम ।  कुनैबेला जंगली हात्तीको उपद्रोस्लथल भनेर झापाको बाहुनडाँगी परिचित थियो । भारतबाट आउने जंगली हात्ती मेची नदी तरिसक्दा बाहुनडाँगी टेक्थे । बाहुनडाँगीमा दिनहुँजसो हात्तीले बितण्डा मच्चाउँथ्यो । त्यहाँका मानिस रातभर जाग्राम बस्थे । कतिले त हात्तीको आक्रमणमा परेर ज्यानसमेत गुमाए ।
उत्तरी झापाको बाहुनडाँगीमा ३० वर्षसम्म प्रमुख समस्याका रुपमा रहेको जंगली हात्तीको समस्या विद्युतीय तारबारका कारण ९५ प्रतिशत नियन्त्रण भयो । एक करोड २० लाख लगानीमा लगाइएको सौर्य उर्जासहितको विद्युतीय तारबारले बाहुनडाँगीमा मानव–हात्ती द्वन्द्व अन्त्य गरिदिएको हो ।
विश्व बैंकको सहयोगमा निर्मित साइरनजडित सोलार फेन्सिङले हात्तीलाई नेपाल प्रवेश गर्न दिँदैन । १२ कत्तिक २०७३ मा तत्कालीन वनमन्त्री शंकर भण्डारीले विद्युतीय तारबारको उद्घाटन गरेका थिए । एक करोड २५ लाख रुपैयाँको लागतमा तारबार जडान गरिएको हो । धेरै हदसम्म तारबार उपयोगी बनेको स्थानीय निलकण्ठ तिवारी बताउँछन् ।
स्थानीयका अनुसार पहिले नेपाल पसेका हात्तीले बेलाबेला उपद्रो मच्चाइरहे पनि तारबार जोडेपछि भने बाहुनडाँगीमा ठूलो समूहमा हात्ती पसेको छैन । बाहुनडाँगीमा जडान गरिएको तारबारमा २५ वटा गेट बनाइएको छ । १२ जनाले रोजगारीसमेत पाएका छन् । साँझ ६ देखि बिहान ६ बजेसम्म तारमा करेन्ट छोडिन्छ । माथिल्लो तारमा १० हजार र तल्लोमा ८ हजार भोल्ट करेन्ट छोड्ने गरिएको जिल्ला वन कार्यालयले जनाएको छ । विद्युतीय तारबार जडान गरेपछि बाहुनडाँगीबासीले खेती लगाउन थालेका छन् । हात्तीले दुःख दिएको समय उनीहरु खेत बाँझै राख्ने गर्थे ।
बाहुनडाँगीमा समस्या समाधान भएपछि यतिबेला जिल्लाका अन्य स्थानमा हात्तीको समस्या बढ्दो छ । ज्यामिरगढी, दुवागढी, चन्द्रगढी, गरामनी, हल्दिबारी, जलथल, पृथ्वीनगर, बालुबाडी, केचना पथरिया, घेरावारीलगायत स्थानमा बढी क्षति गर्ने हात्तीको समूहले पछिल्लो समय दमक र इलामको चुलाचुलीमा रजाईं गरिरहेको छ ।
०४१ यता झापाको प्रमुख समस्याका रुपमा रहेको हात्ती–मानव द्वन्द्व नियन्त्रणमा पटक–पटक प्रयास गरिए पूर्ण रुपमा सफल हुन सकेको छैन । आर्थिक वर्ष २०६७/०६८ देखि २०७३/०७४ सम्ममा ३५ जना झापालीले हात्तीका कारण ज्यान गुमाइसकेका छन् । यस अवधिमा १० वटा हात्ती पनि मान्छेका कारण मरेका छन् ।
आर्थिक वर्ष २०७०/०७१ सम्म उत्तरी झापाको बाहुनडाँगीका बासिन्दाले हात्तीका कारण ज्यान गुमाउँथे । आर्थिक वर्ष २०७२/०७३ यता सदरमुकाम भद्रपुर नगर हात्ती उपद्रोको केन्द्र बन्यो । अहिले हात्तीले दमक र चुलाचुलीलाई छोडेर अन्त सरेको छैन ।
दमकदेखि उत्तरमा रहेको इलामको चुलाचुलीसम्म हात्तीले उपद्रो मच्चाउने गरेको दमक–२ का मगेन्द्र आङ्देम्बेले बताए । ‘हात्ती आउँछ, घर भत्काएर जान्छ,’ उनले भने, ‘सरकारका मान्छे आएर कागजमा टिपेर जान्छन्, क्षतिपूर्ति चाहिँ छैन ।’ गत वर्ष मात्रै हात्तीले चुलाचुली–४ मा गहुँमा पानी हाल्न गएका एक व्यक्तिलाई मारेको थियो ।
जंगलबाट दिनहुँ बस्तीमा प्रवेश गर्ने हात्तीले धान, मकै सखाप पार्ने र घरसमेत भत्काइदिने गरेको चुलाचुली–५ का सञ्जय बस्नेतले बताए । चुलाचुलीतर्फ चपेटी, धिमालटार, आँपझोलामा बढी दुःख दिने हात्तीले दमकतर्फ भने भाङबारी, दम्से लगायत स्थानमा रजाई गररहेको छ । यहाँ ११ वटासम्म हात्ती देखिने गरेको स्थानीय बताउँछन् । जनप्रतिनिधिले हात्तीलाई साइरन बजाएर लखेट्ने गरेका छन् ।
स्थानीयका अनुसार बिगार गर्ने काममा बच्चा भएको पोथी हात्ती बढी सक्रिय देखिन्छ भने ज्यान लिनेमा भाले हात्ती अगाडि रहेको छ । दमक–३ का वडाध्यक्ष नवीन बरालका अनुसार जंगली हात्तीको समूह नजिकैको हम्सेदुम्से वनमा बस्ने गरेको छ ।
अहिलेसम्म झापामा हात्ती आक्रमणबाट ज्यान गुमाउनेका परिवारलाई क्षतिपूर्ति स्वरुप तीन करोड १५ लाख रकम बाँडिसकिएको झापाका डिभिजनल वन अधिकृत वोधराज सुवेदीले बताए ।वन्यजन्तु क्षतिपूर्ति नियमावलीअनुसार झापामा जंगली हात्तीले ज्यान लिएका परिवार, अंगभंग भएका पीडित तथा बालीनाली नष्ट, घरगोठ क्षतिवापत जिल्ला वन कार्यालय झापाले सो रकम वितरण गरेको हो ।
मृतकका परिवारलाई प्रतिव्यक्ति ५ लाख, सख्त घाइतेलाई उपचारवापत प्रतिव्यक्ति १ लाखसम्म, घरगोठ क्षतिवापत बढीमा १० हजारका दरले क्षेतिपूर्ति दिने गरिएको कार्यलयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार