शिक्षा र व्यवसायमा लगानी चाहन्छन् लोपोन्मुख लाप्चा जाति

  सरलपाटी सम्वाददाता

 2205 पटक हेरिएको


लेप्चा समुदायलाई सरकारले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन थालेको निकै वर्ष बित्यो । मासिक एक हजार रूपैयाँका दरले अहिले पनि लेप्चा समुदायले सुरक्षा भत्ता वापतको रकम पाउँदैछन् । तर, यो रकम लेप्चा समुदायका लागि कति फलदायी भएको छ भन्ने विषयको खोजी सरकार आफैंले गरेको छैन ।
सामाजिक सुरक्षा भत्ता पाएपनि अहिले लेप्चा समुदायका धेरै व्यक्ति र परिवारका लागि घरखर्च चलाउनकै निम्ति साहुको ढोका ढकढक्याउन पुग्नु उनीहरूको बाध्यता बनेको छ । मासिक आउने र चौमासिक रूपमा निकासा हुने भत्ता वापतको रकम त कहाँ जान्छ, वर्षैभर गरेको खेती र कमाइ पनि साहुको ऋण तिर्दै ठिक्क हुने गरेको उनीहरू बताउँछन् ।
सूर्योदय नगरपालिका– १२ स्थित मानेगाउँकी जसमाया लेप्चाको पाँच वर्षअघि बनाएको घरको ऋण एक लाख रूपैयाँभन्दा धेरै छ । जसमायाको वर्षेनी उत्पादन हुने अदुवा, कुच्चो, ऋणको व्याज बुझाउँदै सकिन्छ । अदुवा खन्ने बेला भएपछि र कूच्चो सुकेपछि साहु व्याज उठाउन घरै आउँछन्, जसमाया भन्छिन् –‘एकदुईवटा कुखुरा र सरकारले दिएको पैसालेनै घर चलाउनु पर्छ, नानी पढाउन पनि पुग्दैन ।’
नजिकै रहेको गणेश्वरी माविले आधारभूत तहमा पनि वोर्डिङ्गको सिको गर्दै नर्सरी र केजी देखिका कक्षा शुरु गरेर विद्यार्थीबाट मासिक शुल्क लिने गरेकाले त्यसको मार लाप्चा समुदायलाई छ । बालबालिकालाई आउने मासिक भत्ता पनि विद्यालयमा शुल्क बुझाउने गरेका छन् । ठूला कक्षामा अध्ययनरत विद्यार्थीले पनि मासिक शुल्क बुझाउनु पर्दा आफूलाई कापी–किताब किन्न समस्या भएको करफोक विद्यामन्दिरको कक्षा १२ मा अध्ययनरत माने गाउँकै मंगल लेप्चाको भनाइ छ । हाम्रा लागि माथिसम्मकै शिक्षा निःशुल्क गरिदिए राम्रो हुने थियो–मंगलले भने ।
माने गाउँकै ७० वर्षीया मंगली लेप्चालाई भने रेडियो किनेर बजाउने औधी रहर छ । भत्ता थापेको पैसा पनि ऋण तिर्दै सकिन्छ । रेडियो किनेर बजाउने मेरो रहर मरेको छैन, मंगलीले आफ्नै शैलीमा भनिन् – ‘मो त रेडियो नसुनि मोर्ने रछ ।’
कक्षा चारसम्म अध्यययन गरेका ३० वर्षीय कमल लेप्चा भने व्यावसायिक खेती गर्ने र राम्रो आन्दानी गर्ने माने गाउँका एक्ला उदाहरण हुन् । तर, तरकारीको व्यावसायिक खेती गरेपनि घर चलाउन साहुबाट लिएको ऋण कमलले तिर्न सकेका छैनन् । वर्षेनी व्याज तिर्दै ठिक्क हुन्छ, साँवा बुझाउन त सकिएको छैन । झण्डै ८० हजार रूपैयाँ साहुको तिर्नुपर्ने छ,’ कमलले भने ‘सानैमा आमा खस्नु भयो, बुबा पनि रूखबाट लडेर घाइते हुनुभयो, अनि त स्कूल जाने कुरै भएन, स्कूल छाडेर घरायसी काम गर्न थालेको हुँ ।’
सरकारले दिने मासिक भत्ताले पनि केही पार चल्दैन । यो सामाजिक सुरक्षा भत्ता मासिक दिनुभन्दा सरकारले व्यवसाय गर्नका निम्ति एकमुस्ट व्यवस्था गरिदिए धेरै राम्रो हुने कमलको भनाइ छ । कमल भन्छन् ‘यो वर्ष पनि साहुबाट २० हजार रूपैयाँ ऋण लिएर तरकारी खेतीमा सिचाईं गर्न पाइप खरिद गरेको छु । चारमहिनामा पैसा आउँछ, पैसा निकालेकै दिन सकिन्छ । बरू बाख्रा पालन, कुखुरा पालन, पशुपालन, माछा पालन, अदुवा, अलैंची, तरकारी जस्ता व्यवसायमा एक मुस्ट लगानी गरिदिए त्यसको आम्दानी दीर्घकालीन हुने थियो ।’
जनगणना २०६८ का अनुसार लाप्चा समुदायको कूल जनसंख्या तीन हजार चार सय ४५ रहेको छ । उनीहरूमध्ये तीन हजार दुई सय ६४ जना ग्रामीण अनि एक सय ८१ जना शहरी क्षेत्रमा बस्छन् । पूर्वाञ्चलमा सबैभन्दा धेरै तीन हजार दुई सय ३६ जना, मध्यमाञ्चलमा एक सय ६४, पश्चिमाञ्चलमा ३८, मध्यपश्चिमाञ्चलमा पाँच र सुदूरपश्चिमाञ्चलमा दुई जनाको बसोबास छ । उनीहरू पहाडी क्षेत्रमा सबैभन्दा बढी (२ हजार ९ सय ९६) जना बसोबास गर्छन् । तराईमा चार सय ३१ र हिमाली क्षेत्रमा १८ जनाको बसोबास रहेको जनगणना–२०६८ को तथ्यांकले देखाउँछ ।
यो जनसंख्या मध्ये इलामको माइजोगमाई गाउँपालिका दुई सय २७ जना, सूर्योदय नगरपालिकामा एक हजार आठ सय ७०, रोङ गाउँपालिकामा एक हजार ५५, इलाम नगरपालिकामा १६७ गरि तीन हजार तीन सय १९ जनाले मासिक एक हजार रूपैयाँका दरले सामाजिक सुरक्षा भत्ता लिइरहेको गाउँपालिका र नगरपालिकाले जनाएका छन् । जनसंख्या थोरै भएपनि वर्षौंयता आर्थिक संकटमा जेलिएको यो समुदायलाई व्यवसायिकता तर्फको बाटो पहिलो आवश्यकता रहेको लेप्चा उत्थान मञ्चका अध्यक्ष तथा सूर्योदय नगरकार्य पालिकाका सदस्य बीरबहादुर लेप्चा बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार