झापा । झापाको कमल गाउँपालिका–५ का कपडा व्यवसायी खेमराज पौडेलको हत्या भएको छ । कपडाको पैसा सङ्कलनका लागि श्रीमतीका साथ सोमवार झापाको गौरीगञ्ज पुगेका व्यवसायी पौडेल आज विहान मृत भेटिएका हुन् ।
गौरीगञ्ज वडा नम्वर–६ स्थित विनोद यादवको धानखेत नजिक नालामा पौडेल मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनास्थलमा मे ७ प १९०४ नम्बरको मोटरसाइकल, मोवाइल र व्याग फेला परेको छ ।
झापा प्रहरीका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले हिजो साँझ पौडेल अपहरणमा परेको जानकारी आएको र खोजतलास गर्ने क्रममा आज विहान शव भेटिएको बताउनु भयो । मृतक पौडेलको घाँटी र टाउकोमा छुरा प्रहार गरिएको छ ।
पौडेललाई पैसा दिने भन्दै घरमा बोलाउने स्थानीय एक जना व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । तिनै व्यक्तिले पौडेललाई लिएर गएको श्रीमतीले बताएकी छन् । चिया पसलमा आफूलाई बस्न लगाएर हिँडेका श्रीमान् सम्पर्कविहीन भएपछि श्रीमतीले साँझ प्रहरीमा खवर गरेकी थिइन् ।