इलाम ।
कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नाम प्रधानन्यायाधीशमा संसदीय सुनुवाई समतिले सर्वसम्मत अनुमोदन गरेको छ । सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले मिश्रमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीशमा मिश्रलाई अनुमोदन गरेको हो ।
सुनुवाइका क्रममा मिश्रबाट प्रस्तुत भएको न्यायपालिकाको भावी कार्ययोजना तथा अवधारण चित्त बुझ्दो भएको र अदालतको विकृती विसंगती र विचौलियालाई शून्यमा झार्ने प्रतिबद्धता जनाएकाले अनुमोदन गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले बताए । उनले भने–‘अदालतको विकृती विसंगती र विचौलियालाई शून्यमा झार्नुपर्ने समितिको चासो थियो, उहाँले प्रतिबद्धता जनाउनुभया । समितिले उजुरीलाई छानविन गया । योग्यता क्षमतलाई हेरेर सर्वसम्मत गर्ने निर्णयमा पुग्यौँ ।’
सुनुवाइको क्रममा प्रस्तावित प्रधानन्यायाधीश मिश्रले २५ पृष्ठ लामो अवधारण तथा कार्ययोजना प्रस्तुत गरेका थिए । सो क्रममा उनले न्यायालयको क्षेत्रमा आफूले अहिलेसम्म १७ हजार मुद्दाको फैसला गरेको बताए । जस मध्ये सर्वोच्च अदालतमा आइसकेपछि काठमाडौंको वातावरणसँग सम्बन्धि फैसला गरेको, साना गाडी नियन्त्रण तथा धुलो धुँवा नियन्त्रण गर्नुपर्ने फैसलो, राजदूत नियुक्तिमा योग्यता चाहिन्छ भनेर गरेको फैसला, नेपाली नागरिक आमाबाट जन्मभई नेपालमै बसोबास गरेकालाई नागरिकता दिन निर्देशन दिएको, फेवातालको अतिक्रमण रोक्ने बारे निर्णय गरेको, महानगरमा राख्ने होडिङ बोर्डलाई हटाउन आवश्यक कदम चालेको, होडिङ बोर्डमा महिलालाई संयमित ढंगले प्रस्तुत गर्ने जस्ता फैसलालाई उनले मुख्य उपलब्धीको रुपमा प्रस्तुत गरे ।
मिश्र विरुद्ध एनसेल, सूर्यनेपाल लगायत कम्पनीको पक्षमा फैसला गर्दै अर्बौँ कर असुलमा राज्यलाई घाटा बनाएको तथा सरकारी जग्गा निजिकरण गर्ने पक्षमा निर्णय गरेको भन्दै उजुरी परेको थियो । तर उनले आफ्नो कार्ययोजना प्रस्तुत गर्दा यी विषयलाई भने उठाएनन् । सांसदहरुले भने यी विषयमा प्रश्न गरेका थिए ।
१५ सदस्यीय सनुवाइ समिति बैठकमा कांग्रेसका भिमसेनदास प्रधान बाहेक सबै उपस्थित थिए ।


453 पटक हेरिएको 






