एसइईमा उच्च जीपीए ल्याउने सम्मानित

  सरलपाटी सम्वाददाता

 683 पटक हेरिएको

लिम्बू विद्यार्थी मञ्च जिल्ला कार्य समिति इलामले शनिबार “एक हप्ते किरात सिरिजङ्गा लिपी तथा लिम्बू भाषा प्रशिक्षण“ तालिमको समापन तथा एसइई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमबाट प्रशिक्षार्थिहरुलाई प्रमाण पत्र वितरण तथा लिम्बू विद्यार्थी मञ्च इलामले दुई जना लिम्बू विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
मञ्चको गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति तथा जिल्लाका उत्कृष्ट लिम्बू विद्यार्थी एसइई सम्मान कार्यक्रमबाट जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका दुई उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा २०७४ सालको एसइई परीक्षामा सामेल भई उत्कृष्ट अंक ल्याउने सामुदायिक तर्फ जितपुर मावि जितपुरका पार्वता लिम्बू र संस्थागत विद्यालयबाट समता शिक्षा निकेतन बोर्डिङ स्कुलका हेन्जिला थेबेलाई पाँच हजार पाँच रुपैयाँ नगद पुरस्कार सहित सम्मान गरेको हो ।
पार्वता लिम्बूले (३.२५ जिपिए) र हेन्जिला थेबेले (३.८ जिपिए) ल्याएका छन् । सामुदायिक र संस्थागत विद्यालयबाट लिम्बू विद्यार्थीहरु मध्ये सबैभन्दा धेरै जीपीए ल्याउनेहरुलाई सम्मान गरिएको हो । लिम्बू विद्यार्थी मञ्चले गत हप्तादेखी एक हप्ते “किरात सिरिजङ्गा लिपी तथा लिम्बू भाषा प्रशिक्षण“ तालिम आयोजना गरेको थियो । प्रशिक्षण कार्यक्रमको समापनसँगै एसइई सम्मान कार्यक्रम पनि आयोजना गरेको हो ।
सम्मानित विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथिले खादा तथा अविर सहित सम्मान पत्र वितरण गरेर सम्मान गरेको थियो । त्यस्तै कार्यक्रममा जितपुर मा वि र समता स्कुल दुवै विद्यालयहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो । त्यस्तै १० हजार आर्थिक सहयोग गर्ने किरात याक्थुङ चुम्लुङ, ६ हजार ६५ रुपैयाँ सहयोग गर्नुहुने सरस्वती राईलाई पनि प्रशंसा पत्र वितरण गरेको छ । त्यस्तै लिपी प्रशिक्षणको सहजकर्ता सुनिल सेर्मा र हल हल उपलब्ध गरेर सहयोग पुर्याउने नेपाल आदिवासी जनजाति महासंघ इलामलाई पनि कार्यक्रमबाट प्रशंसा पत्र वितरण गरिएको थियो ।
एक हप्ते प्रशिक्षणमा लिम्बू तथा राई लगायत ५७ जनाले सहभागिता जनाएका थिए । तालिमको सहजिकरण सुनिल सेर्माले गरेका थिए । लिम्बू विद्यार्थी मञ्च जिल्ला कार्यसमिति इलामका अध्यक्ष अतित योङहाङको अध्यक्षता, मञ्चका केन्द्रीय अध्यक्ष फिपराज वेघाको प्रमुख आथित्यता एवम् किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बूको विशेष आथित्यतामा भएको कार्यक्रममा सल्लाहकार मोहनसिंह थेवे, जितपुर माविका शिक्षक छत्र योङहाङ, केन्द्रिय सदस्य राम लिङदम, प्रशिक्षक सुनिल सेर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार