काठमाडाैं । निष्क्रिय जीवनशैलीका कारण विश्वको एक चौथाई जनसंख्या गम्भीर रोगको जोखिममा रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ ।
डब्ल्यूएचओले सार्वजनिक गरेको पछिल्लो अध्ययन प्रतिवेदन अनुसार १ अर्ब ४० करोड मानिसले निष्क्रिय छन् अर्थात् उनीहरुले पर्याप्त शारीरिक व्यायाम गर्दैनन् । शारीरिक रूपमा निष्क्रिय हुँदा अथवा व्यायाम नगर्दा मुटु, मधुमेह र क्यान्सरजस्ता रोगको जोखिम बढ्ने विशेषज्ञहरु बताउँछन् ।
नेपाल दक्षिण एसियामै सक्रिय
डब्लूएचओको अध्ययन प्रतिवेदनमा लेखिएअनुसार नेपालीको जीवनशैली दक्षिण एसियामै सबैभन्दा सक्रिय छ । ब्रिटेनसहित उच्च आय भएका देशका मानिसहरूले भने शारीरिक व्यायाम कम गर्ने गरेको उल्लेख छ ।
१६८ देशका एक अर्ब ९० करोड मानिसहरुले आफ्नो सक्रियताबारे दिएको सूचनालाई आधार मानेर अध्ययन प्रतिवेदन तयार पारिएको थियो ।
अध्ययनको निष्कर्षअनुसार उच्च आय हुने ब्रिटेन र अमेरिकासहितका मुलुकमा शारीरिक रूपमा निष्क्रिय जनसंख्या सन् २०१६ मा ३७ प्रतिशत पुगेको छ । जबकी यो जनसंख्या सन् २००१ मा ३२ प्रतिशतमात्र थियो । कम आय भएका देशमा भने यो संख्या १६ प्रतिशत नै यथावत छ ।
हप्तामा १५० मिनेटभन्दा कम मध्यम खालको शारीरिक व्यायाम वा मेहनत गरेकालाई निष्क्रिय मानिएको छ ।
पुरुषको तुलनामा महिला कम सक्रिय
अध्ययन प्रतिवेदनअनुसार पुरुषहरुको तुलनामा महिलाहरु कम सक्रिय छन् । घरायसी काममा व्यस्त हुनुपर्ने, बालबालिकाको स्याहार गर्नुपर्ने र सांस्कृतिक मान्यताका कारण महिलाहरु शारीरिक व्यायाममा केन्द्रित हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।
उच्च आय भएका देशका नागरिकले भने सुविधाभोगी जागिरका कारण व्यायाम नगरेको पाइएको छ । तर, कम आय भएका देशका नागरिक भने धेरै काम गर्नुपर्ने, सार्वजनिक यातायात चढ्नुपर्ने वा पैदल हिँड्नुपर्ने भएकाले थप व्यायाम गर्ने समय नपाउने गरेको अनुसन्धानकर्ताले बताएका छन् ।