झापा । चाडपर्व नजिकिएसँगै झापा प्रहरीले नगदी कारोबारसँग जोडिएका निकायमा विषेश सुरक्षा रणनीति अपनाउने भएको छ । नगदी कारोबार गर्ने र नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएका निकाय र संस्थामा प्रहरीले निगरानी बढाउने भएको हो ।
वैंक, वित्तीय संस्था, कार्यालय, संघ–संस्था, प्रतिष्ठान, डिपार्टमेन्टल स्टोर, उद्योग, सुनचाँदी पसललगायतका स्थानमा कुनै पनि घटना हुन नदिने अभिप्रायले अभियान सुरु गर्न लागिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
‘चाडपर्व नजिकिएको छ, यस्तो अवस्थामा चोरी, लुटपाट, डकैती, विष्फोट, धम्की, जबरजस्ती चन्दाजस्ता घटना हुन नपाओस भनेर हामी चनाखो भएर अघि बढ्छौँ,’ झापाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक भीम ढकालले भने, ‘त्यस्ता निकाय र संस्थाले पनि आफ्नो प्रारम्भिक सुरक्षाका मापदण्ड पालना गरुन्, सुरक्षा निकायसँग बलियो समन्वय र सहकार्य गरुन् भन्ने अभिप्रायले अभियान सुरु गरिने छ ।’
अभियानका क्रममा त्यस्ता निकाय तथा संघसंस्थाको सुरक्षा कमजोरी र समस्या पहिचान गरी विश्लेषण गर्ने प्रहरीको उद्देश्य छ । त्यस्ता निकायलाई सुरक्षाका प्रारम्भिक मापदण्ड बनाउन र पालना गराउन अभिप्रेरित गरिने प्रहरी उपरीक्षक ढकालले बताए ।
अभियानका क्रममा प्रहरीले जिल्लाभरका वैंक, वित्तीय संस्था, कार्यालय, उद्योग, प्रतिष्ठान, सुनचाँदी पसल आदिको आँकडा लिने, सुरक्षाको कमजोरी पहिचान गर्ने तथा चुनौतीबारे विश्लेषण गर्ने भएको छ । ‘हामी यस्ता निकायका प्रमुखहरुलाई बोलाएर सुरक्षाका प्रारम्भिक मापदण्डबारे छलफल गर्नेछौँ,’ झापाका प्रहरी प्रमुख ढकालले भने, ‘सुरक्षाका दृष्टिकोणले आवश्यक मापदण्डहरु कम्पाउण्डवाल, वरिपरि बत्तीको व्यवस्था, सिसि क्यामेराजस्ता कुरामा अभिप्रेरित गरिनेछ ।’
प्रहरीले विशेष सुरक्षा अपनाउन लागेको यस्ता निकायहरु आफैँले सुरक्षा गार्ड पनि राखेका हुन्छन् । ती सुरक्षा गार्डको दक्षता बुझ्ने तथा प्रतिनिधीमुलक रुपमा एक हजार जनालाई प्रारम्भिक सुरक्षा तालिम दिने प्रहरीको तयारी छ ।
तालिम जिल्ला प्रहरी कर्यालय र ७ वटा ईलाका प्रहरी कार्यालयमा सञ्चालन गरिने बताइएको छ । सुरक्षा गार्डहरुलाई सुरक्षाको परिचय, सुरक्षा गर्ने तरिका, सुरक्षा गार्डको काम कर्तब्य, घटना भएमा के गर्ने, रोकथामका उपाय लगायत विषयमा परीक्षण दिने प्रहरीको तयारी छ । तालिम सञ्चालन गर्न ११ जना प्रहरी अधिकृतलाई प्रशिक्षक प्रशिक्षण प्रदान गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकामा यस्ता अभियान सञ्चालन गर्नेछ । इलाका प्रहरी कर्यालय अनारमनीले बिर्तमोड, अर्जुनधारा र कन्काई नगरपालिका, इलाका प्रहरी कार्यालय काँकडभिट्टाले मेचीनगर नगरपालिका, ईलाका प्रहरी कार्यालय धुलाबारीले मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा निगरानी बढाउने प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय झिलझिलेले शिवसताक्षी नगरपालिका, इलाका प्रहरी कार्यालय गौरीगञ्जले गौरीगञ्ज गाउँपालिका, वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर नगरपालिका, इलाका प्रहरी कार्यालय झापाले झापा गाउँपालिका, इलाका प्रहरी कार्यालय राजगढले बाह्रदशी गाउँपालिका र इलाका प्रहरी कार्यलाय बनियानीले कचनकवल गाउँपालिकाका नगदी कारोबारसँग जोडिएका निकायमा विषेश सुरक्षा रणनीति अपनाउने छ ।
अभियान लागु हुने संघ–संस्था, कार्यालय, निकायहरु
तीन सय ३१ वटा सरकारी कार्यालय, दुई सय ६ गैरसरकारी कार्यालय, एक सय ६० बैंक, चार सय ७ वित्तीय संस्था, ६ सय २१ सुनचाँदी पसल, १७ डिपार्टमेन्टल स्टोर, एक सय २१ उद्योग तथा कल कारखाना, ५८ प्रतिष्ठान रपाँच सय ६३ शैक्षिक संस्था रहेका छन् ।