इलाम। राँके बजारमा भएको आगलागी नियन्त्रणमा आएको छ । फिदिम नगरपालिकाको दमकल भरखरै आइपुगेपछि स्थानीय र सुरक्षाकर्मीहरुको समेत प्रयासमा आगलागी नियन्त्रणमा आएको स्थानीय होटल व्यवसायी प्रकाश बस्नेतले बताए । फिदिम नगरपालिका वडा नं. ४ का वडाध्यक्ष प्रकाश गुरुङ्गको नेतृत्वमा आएको दमकलको टोलीले आगो निभाएको उनले बताए ।
ठालुमान श्रेष्ठको घरबाट शुरु भएको आगोले सँगै रहेको उनका भाई नरबहादुर श्रेष्ठको घर जलेर नष्ट भएको छ । यि दुई घर नष्ट हुँदा भाडामा पसल सञ्चालन गर्दै आएका तील विक्रम बस्नेतको किराना पसल, श्रीबहादुर विष्टको कपडा पसल र इश्वर श्रेष्ठको पसल जलेर नष्ट भएको छ ।
सुरक्षाकर्मी र स्थानीयको प्रयासले आगो अन्य घरमा फैलन पाएन । आगलागी हुँदा ग्याँससमेत पड्केकाले आगो नियन्त्रण गर्न गाह्रो भएको थियो । आगलागीबाट भौतिक क्षति भएपनि मानवीय क्षति भने हुन पाएन ।के कारणले आगलागी भएको हो र कति क्षति भयो भन्ने विवरण भने आइसकेको छैन ।
सोही बजारमा केही वर्षअगाडि पनि आगलागी भएको थियो ।


887 पटक हेरिएको 






