इलाम/इलाममा सर्पले डसेर उपचार गराउनेको संख्या बढेको छ । गर्मी महिना लागेसँगै कृषि क्षेत्रमा काम गर्नेहरू सर्पको डसाइबाट प्रभावित बनिरहेका छन् । गतवर्षभन्दा यो वर्ष इलाममा सर्पले डसेर उपचार गराउन अस्पताल पुग्नेको संख्या बढेको अस्पतालले जनाएका छन् ।
चिकित्सकहरूका अनुसार अहिले इलामका लेकाली भेगमा गुर्भे (माउन्टेन पिक भाइपर) र औल भेगमा हरेउ (ग्रिन पिक भाइपर)ले डसिने बिरामीको संख्या धेरै छ । उनीहरू जिल्ला र जिल्लाबाहिरका अस्पतालमा उपचार गराउन गइरहेका छन् ।
यहाँका सर्पले टोकेका पीडितहरू प्रायः झापाको चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा जाने गरेका छन् । केन्द्रका प्राविधिक ऋषिराम पोख्रेलले केन्द्रमा अहिले इलामका मात्रै ६ बिरामीले उपचार गराइरहेको बताए । उनले सर्पले डसेर उपचारका लागि त्यहाँ पुग्नेको संख्या सबैभन्दा बढी इलामकै हुनेगरेको पनि बताए । उनले भने, ‘पाँचथर र ताप्लेजुङका बिरामी पनि आइरहेका छन् तर इलामका सबैभन्दा बढी हुन्छन् ।’
उनले गतवर्षभन्दा यो वर्ष इलामबाट सर्पले डसेका बिरामी धेरै संख्यामा उपचारका लागि केन्द्रमा आइरहेको बताए । ‘यो वर्ष इलामबाट पहिलेका वर्षहरू भन्दा धेरै जना सर्पले डसेर उपचारका लागि आएका छन्,’ उनले भने, ‘सबैभन्दा बढी गुर्भे र हरेउले डसेका बिरामी आएका छन् ।’
नेपालमा पाइने ९ प्रकारका सर्पमध्ये करेत र कोब्रालाई सबैभन्दा खतरनाक मानिने उनले बताए । ‘गुर्भे र हरेउले डसेपछि उपचार चाहिँ अनिवार्य छ तर मान्छे मरिहाल्दैन,’ उनले भने, ‘गुर्भे वा हरेउले डस्नेबित्तिकै अस्पताल पु¥याइहाल्नु त पर्दैन तर प्राथमिक उपचार भने गर्नुपर्छ ।’ उनले गुर्भे वा हरेउले डसेमा बाँध्नु नहुने, बरु घाउ सफा कपडाले पुस्ने सल्लाह दिए ।
‘सर्पले डस्नेबित्तिकै डसेको ठाउँभन्दा माथिल्लोपट्टि बाँध्ने चलन छ, त्यो गलत हो, बाँध्यो भने फोका उठेर झनै समस्या निम्तिन्छ,’ उनले भने, ‘सर्पले टोकेको ठाउँको रगत मुटुमा पुग्यो भने मान्छे बाँच्दैन भन्ने तर्क पनि गलत हो ।’ उनले सर्पले डसेमा सामान्य प्राथमिक उपचारपछि बिरामीलाई अस्पताल लैजान सुझाव दिए ।
सर्पले डस्दा मानिसको शरीरमा श्वासप्रश्वास, रक्तसञ्चारलगायतमा असर पुग्छ । रगत नजम्ने र प्यारालाइसिससमेत हुने उनले बताए । ‘न्युरो डक्सिन विष निकै खतरनाक हुन्छ तर गुर्भे र हरेउको विष चाहिँ हेमोडक्सिन हो,’ पोख्रेलले भने, ‘हेमोडक्सिन धेरै खतरनाक होइन तर उपचार चाहिँ गराउनै पर्छ ।’
मानिसलाई घाँस काट्दा, बाटो हिँड्दा र खेतीपातीको काम गर्दा बढीजसो सर्पले आक्रमण गर्ने गरेको छ । सर्पले डसेपछि उपचार गराउन समयमा नपुग्दा धेरैलाई मानसिक तनावसमेत हुने भएकाले सर्पबाट बच्नु नै सबैभन्दा उत्तम हुने चिकित्सकको सल्लाह छ ।