इलाम । विभिन्न बहानामा भारत लगिने नेपाली चेली तथा बालबालिकालाई भारतबाट उद्धार गरेर ल्याउन भन्दा नाकामै रोकेर घर पर्काउनु उचित रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् ।
पशुपतिनगरमा आयोजित मानव वेचविखन सम्बन्धी एक सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीले पशुपतिनगर नाकाको प्रयोग गरेर धेरै नेपाली चेली तथा बालबालिकालाई भारत लैजाने गरिएको जनाए । रोजगारी, विवाह गरेको, घुम्न जाने, भारततर्फ रहेका आफन्त भेट्न जाने जस्ता बहाना बनाएर नेपाली चेलीलाई भारत लाने गरेको पाइएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक हेमराज ओली बताउँछन् ।
‘हामी चौबीसै घण्टा निगरानी गरिरहन्छौं, त्यति हुँदा पनि विवाह गरेको र आफन्त भेट्न जाने बहाना चै झुक्याउने गजबको काइदा भएको छ,’ ओलीले भने ‘तर पनि शंका लागेपछि नाकामा रोकेर सोध्ने, सम्झाउने र उनीहरूका अभिभावकलाई बोलाएर घर फर्काइदिने गरेका छौं ।’ प्रहरीमा भने आर्थिक वर्ष ०७१÷०७२ मा तीनवटा, ०७२÷०७३ मा ३ वटा र ०७३÷०७४ मा दुईवटा मानव वेचविखन सम्बन्धी घटना भएको इलाका प्रहरी कार्यालयको तथ्याकं छ । तर, एउटै पनि मुद्दा नआओस र नेपाली चेली र बालबालिकाले भारतमा गएर पशुसरहको जीवन बिताउनु नपरोस भन्ने आफ्नो चहाना भएको सूर्योदय नगरपालिका–३ का वडा अध्यक्ष होम कार्की बताउँछन् ।
खुला सिमाना छ, नेपालको सुरक्षा कमजोर छ, सीमामा कम्तिमा पनि तीन–चारवटा सुरक्षा वीट नेपालपट्टि राख्नु आवश्यक रहेको कार्कीको भनाइ छ । ‘सुरक्षा सर्तकता अपनाएर भारत हिंडेका चेलीलाई उताबाट उद्धार गरेर ल्याउनु भन्दा नाकामा कसरी रोक्न सकिन्छ त्यो प्रयास गर्नु पहिलो आवश्यकता बनेको छ ।’ कार्कीले भने ।
इलाम एफएमले आयोजना गरेको सार्वजनिक वहस मदानीका लागि पशुपतिनगर आइपुगेका भारत कालेङपोङस्थित बाल सुरक्षा अभियानका विकास प्रधानले पनि धेरै नेपाली चेलीहरूले भारतका विभिन्न स्थानमा कष्टपूर्ण जिवन बिताइरहेको भेटिने गरेको जानकारी दिए । ‘कम्तिमा ती चेलीहरूलाई सजिलै उद्धार गरेर ल्याउन नेपाल–भारत बीच हुने उच्चस्तरीय बैठकहरूमै त्यस्ता विषयले प्रवेश पाएमा मात्र सजिलो हुनसक्छ ।’ उनले भने ‘वाणिज्य सम्बन्धी बैठक हुन्छन्, दुई देशबीच अन्य बैठक छलफल पनि हुन्छन्, तर, नेपाली चेलीका विषयमा चाँहि त्यस्ता बैठक र छलफलमा नेपालले कुरा चलाउन जरूरी छ ।’
नेपालतर्फ भने नेपाल–भारत आवतजावत हुने चोर बाटोहरूमा महिला र किशोरीहरूलाई तैनाथ गराउँदै निगरानी समुह बनाइएको छ । ती समुहहरू मार्फत पनि सचेतना कार्यक्रम भइरहेको छ । भारतीय सीमाना सँगै जोडिएको सूर्योदय नगरपालिकाले अब भने नगरका सबै विद्यालयमा चेलीबेटी तथा मानव वेचविखन सम्बन्धी विषय विद्यार्थीहरूलाई नै जानकारी गराउने गरी कार्यक्रम तय गरेको नगरपालिकाकी उप–प्रमुख दुर्गादेवी भट्टराईले बताइन् । ‘अब यहाँका हरेक विद्यालयमा विद्यार्थीलाई सचेतना कार्यक्रम छ, यसले पनि मानव ओसाप–पसार न्यूनीकरण गर्न सहयोग पुग्छ भन्ने विश्वास छ,’ भट्टराईले भनिन् ‘चालू आर्थिक वर्षमा हिंसा पीडित, तथा त्यसरी उद्धार गरेर ल्याइएका चेलीबेटीलाई राख्न र उनीहरूलाई सीपमूलक शिक्षा दिन नगरपालिकाले महिला पुर्नस्थापना केन्द्र निर्माण गर्ने कार्यक्रम तय गरिएको छ ।’
गरिबी, बेरोजगार र तस्करको फन्दामा परेर भारत पुगिसकेका नेपाली चेलीहरूको उद्धार गरेर नेपाल फर्काउनु पहिलो आवश्यकता रहेको पशुपतिनगरकै बासिन्दा कमल गदालको भनाइ छ । ‘त्यहाँ भएका चेलीबेटीलाई कसरी नेपाल ल्याउने भन्ने नेपाल सरकारले छुट्टै व्यवस्था गर्नुपर्छ’ गदालले भने बाँकीलाई नाकामै रोक्नु पर्छ, स्थानीय सरकारको अबको पहल पनि त्यसमा होस ।’ इलाममा मात्र नेपाल–भारत सीमाना ५२ किलोमिटर पर्छ ।
यो क्षेत्रमा ३० वटा गाडीका बाटा र ७५ वटा चोरबाटाहरूका सुरक्षा विट राखेरै निगरानी गर्न पनि स्थानीयले सरकारसँग माग गरेका छन् ।