‘महिलाको क्षमता विकास गर्न समाजको सबै पक्ष लाग्न सुझाव’

  याम माबोहाङ लिम्बू

 857 पटक हेरिएको

इलाम। महिलाको समग्र विकासका लागि समाजको सबै पक्ष लाग्नुपर्ने बुधबार इलाममा भएको राजनीतिमा महिला, निर्वाचन तथा निर्णायक तहमा महिला सहभागिता सम्बन्धी जिल्ला स्तरीय अन्तकृयामा सहभागि बक्ताले सुझाएका छन् । जागरण नेपाल र मानव अधिकार मञ्च नेपालको आयोजनामा भएको कार्यक्रममा महिलाहरू क्षमता नभएरै पछि परेको बताउँदै महिलाको समग्र विकासका लागि समाजको सबै पक्ष लाग्नुपर्ने जोड दिए ।

महिलाको विकास गर्न नीतिगत र सामाजिक रूपमै रूपान्तरण हुनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख गणेण बरालले बताए । उनले राजनीतिक दलले नै समन्वय गरेर महिला क्षमता विकासको काम गर्न सकेमात्र क्षमतावान बनाउँनु सकिने सुझाए ।

वर्तमान सन्द्धर्भमा महिलाले पाएको अवसर र उपलब्धीलाई संरक्षण गर्दै भविष्यका लागि सक्षम बन्नुपर्ने नेपाल कम्युनिष्ट पार्टीका प्रतिनीधि नवराज शंकरले सुझाए । उनले महिलालाई सीप र क्षमता विकास गर्न स्थानीय सरकारले कार्यक्रम ल्याउनुपर्ने जोड दिदै, महिलालाई विभेद गरिएको धार्मिक सांस्कृतिक सामाजिक धारणलाई हटाउँन आग्रह गरे ।

नेपाली कांग्रेसका सभापति हिमालय कर्मचार्यले महिला विकासको पहिलो खुट्किलो सशक्तिकरण भएको बताए । उनले राजनीतिक आर्थिक रूपमा महिलालाई सबल बनाए मात्र समाज समृद्ध हुने जोड दिदै, क्षमता विकासका लागि परिवार र समाजको मन जितेर काम गर्न सुझाए ।

समाजलाई राजनीति बुझाउँन नसकेकोले महिला राजनीतिमा आउन नसकेको स्रोत केन्द्रकी सदस्य उर्मिला तामाङले बताइन् । उनले इतिहास देखि नै महिलालाई विभेद गरेको विषयलाई अहिले समाजले संस्थागत गरेकोले दोस्रो दर्जाको नागरिक हुनु परेको बताउँदै, राजनीतिक दलले महिलाको क्षमता विकासको काम नगरेको बताइन् ।

कार्यक्रमका विषयमा कार्यपत्र प्रस्तोता जसबहादुर लुङ्गेलीले महिलालाई राजनीतिक रूपमा सबल बनाउँन राजनीतिक दलले नै प्राथमिकताका साथ काम गर्नुपर्ने सुझाए । उनले वर्तमानको महिलाको अवसर र उपलब्धीलाई भविष्यमुखी बनाउँन महिला आफै निर्णायक भएकोले काम गरेर भविष्य निर्माण गर्नुपर्ने जोड दिए ।

मानव अधिकार मञ्चका कार्यकारी निर्देशक देबेन्द्र विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा, जिल्लाको महमाई, चिसापानी, शान्तिपुर, चुलाचुली र दानाबारीका महिला सशक्तिकरण समूहको सदस्यको सहभागिता रहेको कार्यक्रम संयोजक शिखरनाथ सापकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार